भोटेकोशी बाढीले क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणमा चीनले सहयोग गर्ने

काठमाडौं । रसुवामा भोटेकोशी नदीको बाढीले क्षति पुर्याएको भौतिक संरचनाहरूको पुनर्निर्माणमा चीनले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग बिच आज भएको भेटवार्तामा चिनियाँ टोलीले सहयोगको प्रतिबद्धता जनाएको हो ।

मन्त्री पौडेलको सचिवालयले पठाएको प्रेस नोटमा उल्लेख भएअनुसार भेटवार्तामा सिड्काका अध्यक्ष सियाओदोङ्गले भौतिक संरचनाहरूको पुनर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रक्रिया छिटो सञ्चालन हुने गरी काम गर्ने जानकारी दिएका थिए ।

असार २४ गते बिहान तिब्बत क्षेत्रबाट बगेर आउने लेन्दे र केरुङ खोलाको बाढी भोटेकोशी नदीमा मिसिएर शक्तिशाली बन्दा ६ चिनियाँ नागरिकसहित १९ जना बेपत्ता छन् । ११ शव र मानवअंग फेला परेका छन् ।

अर्थमन्त्री पौडेलले विपद् लगत्तैको पुनर्निर्माण नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै भौतिक संरचनाहरूको पुनर्निर्माणप्रति देखाएको तत्परता, चासो र प्रतिबद्धताका लागि चिनियाँ पक्षलाई धन्यवाद व्यक्त गरेका थिए । आयात–निर्यातका लागि मात्र होइन, राजस्वका हिसाबले पनि रसुवा नाका महत्त्वपूर्ण छ ।

अर्थ मन्त्रालयमा भएको द्विपक्षीय भेटवार्ता पश्चात् ४ वटा परियोजनाका समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । सो समझदारीअनुसार भरतपुर क्यान्सर अस्पताल, सिभिल अस्पताल र रसुवागढी–केरुङ ट्रान्समिसन लाइनमा चीनले सघाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *