कोरोना संक्रमण बढ्दो छ, शतर्क रहौँ : स्वास्थ्य मन्त्रालय

काठमाडौं । छिमेकी राष्ट्र भारतमा कोरोनाको संक्रमण दर तिब्र रुपमा बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा संक्रमण फैलन नदिन पूर्वतयारीका सबै काम सम्पन्न गरेको बताएको छ ।

छिमेकी मुलुक भारतमा देखिएको संक्रमण १५ दिनभित्र नेपालमा भित्रिएको विगतको अनुभवको आधारमा पूर्वतयारीको काम भइरहेको मन्त्रालयको भनाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. प्रकाश बुढाथोकीले भारतमा पछिल्लो समय तिब्र रुपमा फैलिएको संक्रमण र केही मृत्युका घटनालाई मध्यनजर गरेर विगत दुई सातादेखि पूर्वतयारी भइरहेको बताए ।

प्रवक्ता डा. बुढाथोकीले छिमेकमा संक्रमण बढेसँगै नेपालमा पनि ढिलो वा छिटो आउँछ भन्ने विगतका अनुभवले देखाएकोले पूर्वतयारीमा लागिरहेको बताएका हुन् ।

पूर्वतयारीका क्रममा भारतसँग जोडिएका १७ वटा स्थल नाका र तीन वटा हवाई नाका तथा त्यहाँ रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा राखिएको बताए ।

नाकामा भित्रने सबैलाई कोरोनाको आरडिटि टेस्ट गर्दा नेगेटिभ वा पोजेटिभ जे देखिने भएपनि एक सातासम्म सेल्फ आइसोलेशनमा बस्न आग्रह गरिरहेको बताए ।

प्रवक्ता बुढाथोकीले कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका मानिसहरु देशभित्र वा देश बाहिर जो भएपनि एक सातासम्म सेल्फ आइसोलेसनमा बस्न र कुनै कारणवश श्वासप्रश्वासमा समस्या भए वा थप जटिलताहरु देखिए नजिकका स्वास्थ्य संस्थामा तुरुन्त जान आग्रह गरिरहेको बताए ।

‘हाम्रो छिमेकी मुलुक भारतमा पछिल्लो समयमा संक्रमण बढेपछि र केही मृत्युको घटना भइसकेपछि भारतमा भएको संक्रमण ढिलो वा छिटो १० दिन १५ दिनमा नेपालमा पनि आउँछ भन्ने विगतका अनुभवले देखाएको हुनाले हामी त्यसको पूर्वतयारीमा लगभग २ सातादेखि नै लागिरहेका छौं । र, पूर्व तयारीका क्रममा सबैभन्दा पहिलो कुरा भारतबाट नेपालमा संक्रमण नछिरोस् भनेर १७ वटा स्थल नाका र तीन वटा हवाई नाका त्यहाँ रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीलाई सचेत बनाएका छौं,’ उनले भने।

कोरोना उपचारमा स्वास्थ्य पूर्वाधार र जनशक्ति अभाव छैन

डा. बुढाथोकीले कोरोनाका लागि पूर्वाधार र जनशक्तिको अभाव नभएको बताए । संक्रमण बढेको अवस्थामा पनि पहिलेको तुलनामा उपचार र व्यवस्थापन गर्न सहज हुने बताए । आकस्मिक व्यवस्थापनका रेस्पोन्स टिमले पाँच मिनेट भित्र काम शुरु गर्नेगरी तयारी अवस्थामा रहेको बताए । देशभरका २५ वटा हव हस्पिटल,२ हजारभन्दा बढी सेटलाइट हस्पिटललाई पनि तयारी अवस्थामा रहने गरी व्यवस्था गरेको बताए । कोभिडको प्रतिकार्यका लागि अनुगमन गर्न देशभरका ६ सयभन्दा बढी प्रयोगशालाको रिपोर्टहरुलाई केन्द्र र प्रदेशले गर्ने व्यवस्था मिलाइएको बताए ।

संक्रमण बढ्दै गए उपलब्ध स्रोत, साधन र पूर्वाधारले ९० हजारदेखि एक लाखसम्मको जनसंख्यालाई धान्नसक्ने गरी तयारी गरिएको उनको भनाई छ ।

उनी भन्छन्, ‘सातै प्रदेशका रहेका हेल्थ इमर्जेन्सी अपरेशन सेन्टरहरुलाई पनि एक्टिभेट गरिसकेका छौं । र निदानका लागि र मोनिटरिङका लागि देशभरिका ६ सय भन्दा बढी प्रयोगशालाको रिपोर्टहरुलाई केन्द्रबाट र प्रदेशले मनिटरिङ गरिरहेको छ । कुनै कारणवस संक्रमण फैलिइ हाल्यो भने त्यो संक्रमणलाई थप संक्रमण नफैलियोस्, थप धनजनको क्षति नहोस् भन्नका लागि अस्पतालहरुलाई पनि तयारी अवस्थामा राखेका छौं । साथै प्रत्येक वडामा भएका र्यापिड रेस्पोन्स टिमहरु, भोलि इमर्जेन्सी मेडिकल टिम मोबिलाइज गर्नुपर्यो भने पनि त्यसलाई तयारी अवस्थामा राखेका छौं । त्यसमा आम नेपालीले शतर्कता अपनाइदिनुभयो भने हाम्रो पूर्वतयारीले कोभिडलाई परास्त गर्नसक्छौं ।’

मनसुनी प्रकोप र कारोना संक्रमण बढे समस्या आउन सक्ने

नेपालमा मनसुजन्य रोगको संक्रमण हरेक वर्ष तिब्ररुपमा बढीरहेको छ । विगत केहि वर्ष यता मनसुनका समयमा झाडापखाला, श्वासप्रश्वास, टाइफाइड, हैजाजस्ता रोगको संक्रमण घातक रुपमा देखिएको छ । प्रवक्ता डा.बुढाथोकीले मनसुनका समयमा देखिने पानीजन्य रोग र संक्रमण तथा कीटजन्य रोग र संक्रमण डेङ्गु, मलेरियाजस्ताको संक्रमण फैलने जोखिमलाई मध्यनजर गरेर पनि पूर्वतयारीको काम गरिरहेको बताए ।

मनसुनी प्रकोप र कारोना संक्रमणका बारेमा सचेत रहन आम नागरिक पनि अग्रसर हुनुपर्ने बताए । सरकार एक्लैको पहलले मात्र संक्रमण रोक्न सम्भव नभएकाले आम नेपाली नागरिक पनि सचेत र सक्रिय भएर सोहीअनुरुप सचेतना अपनाइदिन प्रवक्ता डा. बुढाथोकीले आग्रह गरे । नागरिकले सचेतना पनि नअपनाउने र सरकारको आग्रह पनि नमान्ने हो भने सरकारसँग उपलब्ध सिमित श्रोत साधनले सबैको उपचार गर्नसक्ने अवस्था रहेको बताए ।

उनले भने, ‘मनसुनजन्य रोगहरु हुन्, चाहे पानी प्रदुषित भएर फैलने रोगहरु हुन्, चाहे खाल्डाखुल्डीमा पानी जमेर लामखुट्टे बढेर लामखुट्टेबाट उत्पन्न हुने डेङ्गी जस्ता रोगहरु हुन् । ती सबैलाई पनि एउटै स्वास्थ्य संस्था र पूर्वतयारीले सम्बोधन गर्नुपर्ने भएकाले आम नेपाली नागरिकले जनस्वास्थ्यका मापदण्ड, स्वास्थ्यमा सचेतना, खानेपानी शुद्ध र खानेकुरा बासी सढेगलेका नखाने, फास्टफुड नखाने, मद्यपान धुम्रपान नगर्ने, लागुपदार्थ सेवन नगर्नेजस्ता कुराहरु गरिदिनुभयो भने अहिले कोभिडले बढाएको चुनौति सँगसँगै हाम्रो मनसुन र मौसमले बढाउने चुनौतिलाई पनि न्युनिकरण गर्नसक्छौं ।’

स्वास्थ्य सामग्रीको अभावमा राहत उद्धार प्रभावित हुँदैन

विभिन्न प्रकोपको रोकथामका लागि स्वास्थ्य मन्त्रालयले तीन तहका सरकारसँग भर्चुअल र प्रत्यक्ष बैठकहरु गरिरहेको बताए । विपद्को पूर्वतयारी र राहत उद्धारको लागि आवश्यक सामग्रीको मौज्दातहरुमध्ये स्थानीय तहले कति किन्ने राख्ने। प्रदेशले कति किन्ने राख्ने र संघले कति किन्ने राख्नेबारे पनि टुंगो लागिसकेको बताए ।

विगतमा जस्तो सामग्रीको अभावमा काम नै रोकिने अवस्था नआउने बताए । कुन क्षेत्रमा, कहाँ कस्तो विकटता छ, त्यसको अध्ययन गर्न र त्यहाँ रहेका जनप्रतिनिधिकै संलग्नतामा र्यापिड रेस्पोन्स टीमहरु गठन गरी देशभर तयारी अवस्थामा राख्न स्वास्थ्य मन्त्रालयले समन्वय गरिरहेको बताए । साथै विपद्मा परेकाहरुको तत्काल उद्धार कार्यका लागि मन्त्रालयको हटलाइन नम्बर, हेलो स्वास्थ्यका नम्बरमा, प्रदेश स्तरका आकस्मिक सेवाका सम्पर्क नम्बर र स्थानीय तहका आकस्मिक सेवाका सम्पर्क नम्बरमा खबर गरेर सेवा लिन दिन सकिने बताए ।

उनले भने, ‘हामी कहाँ भौगोलिक रुपले हिमाल, पहाड र तराईका विविध कठिनाईहरु छन् । जसले गर्दा बाटो वा सवारी साधन अथवा अन्य केहीपनि उपलब्ध नहुनसक्ने वा बन्द हुनसक्ने अवस्था आउन सक्छ । त्यसको पूर्वतयारीका लागि हामीले २५ वटा हव हस्पिटलमै इमर्जेन्सी लजिष्टिकका ट्यांकरहरु पनि राखेका छौं । त्यस्तै जिल्ला अस्पतालहरु र अन्य स्वास्थ्य संस्थाहरु निजी, सहकारी र सरकारी सबैलाई विपद्का लागि इमर्जेन्सी लजिष्टिकहरु पहिले नै भण्डारण गरेर राख्नुस् । त्यहाँका क्यान्टिनहरुलाई पनि कम्तिमा १५ दिन पुग्नेगरी भण्डारण गर्न लगाउनुस् भन्ने किसिमले तयारी गरेका छौं । हामीले त्यहीअनुसार मेचीदेखि महाकालीसम्मका सबै सेटेलाइट हस्पिटल र हव हस्पिटललाई पनि तयारी गरिसकेका छौं ।’

डा. बुढाथोकीले अहिलेको मनसुनमा विगतको वर्षभन्दा धेरै गर्मी हुने र धेरै वर्षा हुने आँकलन आइरहेकोले त्यसैअनुसार काम गर्नसक्ने गरी स्वास्थ्य मन्त्रालयले काम गरिरहेको बताए ।

नेपालको पश्चिम-उत्तरका क्षेत्रहरुमा एकातिर जलवायु परिवर्तनका कारण अधिक वर्षा हिउँ पहिरो जाने जोखिम छ भने तराई क्षेत्रमा अत्यन्त गर्मी भएर हिट वेभ र हिट स्ट्रोकको जोखिम रहेकोले मन्त्रालयले अलग्गै रणनीति बनाएर काम गरिरहेको बताए । विगतमा भएका काम र त्यसबाट प्राप्त अनुभवले नयाँ रुपमा रेस्पोन्स गर्नलाई मातहतका निकायलाई निर्देशन दिइएको बताए ।

मनसुन सक्रिय रहेको सडक बाटो बिगार्ने अवरोध हुने अवसथालाई ध्यानमा राख्दै स्वास्थ्यको आकस्मिक सेवा राहत उद्धारको लागि बाटोबाट सम्भव भए बाटोबाट र सम्भव नभए हवाई मार्गको माध्यमबाट, नेपाली सेनाको सहयोगमा र विभिन्न निकायसँग सहकार्य गर्ने र गृह मन्त्रालयसँग पनि विपद्सँग सहकार्य गरेर हेलिकप्टरमार्फत पनि सेवा पुर्याउने गरी कार्यढाँचा तयार गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *