पुष्कर भण्डारी
डडेल्धुरा। लघु जलविद्युत् योजना मर्मत नहुँदा चुँडी गाउँवासी अँध्यारोमा बस्न बाध्य हुने गरेका छन् । भागेश्वर गाउँपालिका १ चुँडी गाउँमा तीन वर्ष पहिले करिब एक करोड १५ लाख रुपियाँ लागतमा चमा गाड सिँचाइ तथा लघु जलविद्युत् योजना निर्माण गरिएपछि गाउँवासीले उज्यालो पाएका थिए । तर हाल उपकरणहरू मर्मत हुन नसक्दा बेला बेला बत्ती जाने गरेको छ ।
लघु जलविद्युत् योजना निर्माण गरिए पछि २८ घरधुरी रहेको चुँडीका सबै घर, एउटा आधारभूत विद्यालय र सामुदायिक भवनमा बिजुली बलेको थियो । दुइ वर्षको वारेन्टी भएका उपकरण मर्मत र नफेरिँदा समस्या आएको हो । पानी खुला बन्द गर्ने बटरफ्लाइ, विद्युत् प्रवाह गर्ने नोजल, ब्यारिंग र मिटरहरू खराब भएको विद्युत् गृहका अपरेटर पदमसिंह थलालले बताउनुभयो । उपकरण नयाँ फेर्न करिब तीन लाख रुपियाँ पर्ने र फेर्नका लागि आउने अपरेटर खर्च थप लाग्ने अनुमान गरिएको छ । तर उक्त रकम छैन । उहाँले भन्नुभयो, स्थानीय सरकारले आवश्यक रकम नछुट्याइदिँदा अँध्यारोमा बस्नुपर्ने बाध्यता छ ।
प्रत्येक घरधुरीबाट मासिक एक सय रुपियाँका दरले शुल्क उठाउने गरे पनि उपकरण खरिदका लागि रकम जमा हुन नसकेको उहाँले बताउनुभयो । यस आयोजनाको बिजुली उत्पादन क्षमता साढे नौ किलोवाट छ तर गाउँमा अहिले करिब एक किलोवाट विद्युत् मात्रै खपत हुन सकेको छ । बिजुली बलेसँगै गाउँमा मिल पनि सञ्चालन गरिएको थियो । हाल घट्ट निर्माण गरिएको उहाँले बताउनुभयो । चुँडी गाउँको केही पर पत्रम र माथि बलकाँडे गाउँ छन् । योजनाका पोल र तारहरू खपत नभई बचेका पनि छन् । यहाँको बिजुली अन्य गाउँमा लैजाने कुनै योजना पनि नबनाइएकाले उत्पादन हुने बिजुली खेर गइरहेको उहाँको भनाइ छ ।
नेपाल–भारतको सीमा नदी महाकाली नदीको केही माथि पर्ने दुर्गम चुँडीगाउँमा बिजुलीसँगै मिल सञ्चालन आएपछि स्थानीय कष्टकर जीवनयापनको समस्याबाट मुक्त भएका थिए । तर अहिले फेरि जनजीवन कष्टकर बन्न पुगेको चमा गाड सिँचाइ तथा लघु जल विद्युत् योजनाका अध्यक्ष कालुसिंह बोहराले बताउनुभयो ।
नेपाल सरकार, भागेश्वर गाउँपालिका, अक्सफाम नेपाल र ग्रामीण महिला विकास तथा एकता केन्द्र रुडुकको आर्थिक, प्राविधिक सहयोगमा सो आयोजना निर्माण गरिएको थियो । चार हजार छ सय मिटर टाढाबाट कुलो बनाएर गाउँमा पानी पुगेपछि सो आयोजना सञ्चालन गरिएको अध्यक्ष बोहोराले बताउनुभयो । विद्युत् गृहभन्दा तल गाउँ र खेतबारी रहेको छ । विद्युत् गृहबाट निस्केको पानी पिउन, सिँचाइ गर्न मिल्ने भएकाले पानीको बहुउपयोग भइरहेको उहाँले बताउनुभयो ।