मधेशमा करेन्टको कहर: तीन वर्षमै ३२४ किसानसहितको मृत्यु

जनकपुर । विद्युतिय सुरक्षामा लापरबाहीले मधेश प्रदेशमा करेन्ट लागेर ज्यान गुमाउनेको सङ्ख्या ह्वात्तै बढिरहेको छ । पछिल्ला तीन वर्षमा मात्रै ३२४ जनाले करेन्टको कारण ज्यान गुमाएका छन् । मृतकमध्ये अधिकांश किसान रहेका छन्, जसले खेत सिँचाइ गर्न विद्युतीय मोटर प्रयोग गर्ने क्रममा ज्यान गुमाएका हुन् ।

धान खेतीमा पर्याप्त वर्षा नभएपछि किसानहरू बोरिङ, नहर, कुलो, पोखरी र नदीबाट मोटरमार्फत पानी तान्न बाध्य हुन्छन् । तर असावधानीका कारण खेतमै करेन्ट लागेर जीवन गुमाउने घटनाहरू बढिरहेका छन् ।

धनुषा, सप्तरी, रौतहट, सिराहा, सर्लाहीलगायत जिल्लामा हालै मात्र अनेकौँ किसान करेन्टको कारण मृत्युवरण गरेका छन् । उदाहरणका लागि धनुषाधामका ४५ वर्षीय शिवजी मण्डल, सप्तरीका ४२ वर्षीय शम्भुकुमार इसर, रौतहटका ५५ वर्षीय शेख जफिर, सिराहाकी ४५ वर्षीया सविता कामती लगायत धेरैले खेतमै करेन्ट लागेर ज्यान गुमाएका छन् । यहाँसम्म कि चापाकल, सिटी रिक्सा चार्ज गर्ने क्रममा समेत मृत्यु हुने घटनाहरू दर्ज छन् ।

तथ्याङ्क भन्छ–

आर्थिक वर्ष २०७९/०८० मा १०७ जनाको मृत्यु (८३ पुरुष, १४ महिला, ३ बालक, ७ बालिका)

आर्थिक वर्ष २०८०/०८१ मा ९८ जनाको मृत्यु (७० पुरुष, २२ महिला, ५ बालक, १ बालिका)

आर्थिक वर्ष २०८१/०८२ मा ११९ जनाको मृत्यु (८४ पुरुष, १८ महिला, १३ बालक, ४ बालिका)

सुरक्षा उपाय आवश्यक

विद्युत् प्राधिकरणका अनुसार अर्थिङ जडान नगर्नु, कमजोर तार प्रयोग गर्नु र असावधानी प्रमुख कारण हुन् ।
करेन्टबाट जोगिन—

सुरक्षित तार र उपकरण प्रयोग गर्नुपर्छ

घरमा अर्थिङ र आरसिबी/एमसिबी अनिवार्य जडान गर्नुपर्छ

पानी नजिक करेन्ट नचलाउने

भिजेको हातले स्विच नछुने

मर्मत गर्दा मुख्य स्विच बन्द गरी रबरका पञ्जा/चप्पल प्रयोग गर्ने

करेन्ट लागेमा प्रत्यक्ष नछुने, सुकेको काठ वा प्लास्टिक प्रयोग गरी छुट्याउने

घाइतेलाई तुरुन्त अस्पताल पुर्‍याउने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *