गुल्मी । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनमा जिल्ला समन्वय समिति गुल्मीले जिल्लाभित्रका दुई नगरपालिका र दश गाउँपालिकाको ‘असल अभ्यास’ अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
जिल्ला समन्वय समिति प्रमुख द्रोण खत्रीले उद्घाटन गर्दै कार्यक्रमको उद्देश्य स्थानीय तहले गरेका अनुकरणीय कार्यहरू साझा गर्दै एक–अर्काबाट सिक्ने अवसर सिर्जना गर्नु, सेवा प्रवाहलाई प्रभावकारी, उत्तरदायी र नागरिकमुखी बनाउनु रहेको बताए।
उपप्रमुख तेजिन्द्र सलामी मगरले यो कार्यक्रमले आगामी दिनमा नयाँ र प्रभावकारी कार्य गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे। कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले आफ्ना पालिकामा भएका महत्त्वपूर्ण अभ्यासहरूबारे जानकारी साझा गरे।
अनुकरणीय कार्यक्रमहरूमा रेसुङ्गा नगरपालिकाको पर्यटन प्रवर्द्धन, मुसिकोट नगरपालिकाको क्षयरोगमुक्त अभियान, धुर्कोट गाउँपालिकाको बालश्रम मुक्त घोषणा, मदाने गाउँपालिकाको प्रधानाध्यापकसँग कार्यसम्झौता, मालिका गाउँपालिकाको ‘पढ्दै कमाउँदै’ कार्यक्रम, इस्मा गाउँपालिकाको कृषि बजारीकरण, चन्द्रकोट गाउँपालिकाको ‘पढ्दै कमाउँदै’, सत्यवती गाउँपालिकाको कृषि बजारीकरण, कालिगण्डकी गाउँपालिकाको सिंचाइ प्रवर्द्धन, रुरुक्षेत्र गाउँपालिकाको शिक्षामा डिजिटल प्रविधि, छत्रकोट गाउँपालिकाको स्मार्ट आमा कार्यक्रम, र गुल्मीदरबार गाउँपालिकाको फलफूल तथा तरकारीखेती प्रवर्द्धन कार्यक्रम समावेश छन्।
कार्यक्रमको सहजीकरण जिल्ला समन्वय अधिकारी होमनाथ काफ्लेले गरेका थिए।