कञ्चनपुर। कञ्चनपुरको गड्डाचौकी नाकामा हरेक वर्षको जस्तै यसपटक पनि भीड छ। तर यो भीडमा वर्षौँदेखि बस्दै आएको दशैँको उत्साहको रङ छैन, छ केवल रोजगारीको खोजको तड्पाहट। दसैँ नजिकिँदै गर्दा सुदूरपश्चिमका गाउँबस्तीहरूबाट मानिसको खोलो घर फर्किने होइन, भारततर्फ बगिरहेको छ।
डोटीको जोरायल गाउँपालिका–२ का करन थापा मंगलबार गड्डाचौकी पार गर्दै थिए। काँधमा सानो झोला, अनुहारमा न त पर्वको चमक न त घर फर्कने हतार। उनी भन्छन्, “साँझ बिहान छाक टार्न गाह्रो छ, पैसा नभई दसैँ कहाँ हुन्छ र? तिहार मनाउन सके फर्किन्छु।” दसैँमा बालबच्चा विद्यालय बिदामा भएकाले उनी यसपटक पत्नी र सन्तानसहित भारतको हिमाञ्चल प्रदेशको बाटो लाग्दै छन्।
करन मात्र होइन, बाजिलेकका मीनादेवी थापा पनि परिवारका सदस्यसँगै सिमलातर्फका छन्। “सिमलामा अहिले स्याउ टिप्ने काम पाइन्छ,” उनी सुनाउँछिन्, “त्यहाँ मजदुरी गरेर तिहारमा घर फर्किन्छौं।”
त्यही गाउँका बलबहादुर थापा आफ्नो स–साना छोराछोरीसँग भारततर्फको बसको प्रतीक्षामा छन्। “पैसा नभई दसैँ चल्दैन, गाउँमा काम छैन,” उनी भन्छन्, “एक महिना मजदुरी गरेर तिहारमा फर्किने योजना छ।”
बाजिलेकका मात्रै होइन, कैलालीको बौनियाका युवा कृष्ण सेरला पनि स्कूलको लामो बिदालाई ‘कमाउने समय’ मान्दै भारततर्फ निस्केका छन्। “बुबा–आमा भारतमै काम गर्नुहुन्छ, विद्यालय बिदा भएकाले म पनि उतै जान लागेको हुँ,” उनी भन्छन्।
सुदूरपश्चिमका गली–मुहानमा अहिले यही कथा प्रतिध्वनित छ। दसैँको गन्धले होइन, दैनिकीको कराले बाटो समाएका सयौँ युवायुवती, परिवार र बालबालिका प्रत्येक दिन यो नाकाबाट भारत पस्दैछन्।
घरभित्रको आँगन, टोलका पिङ, चोकमा गुन्जिने दशैँको मादल—यी सबैलाई पर धकेल्दै उनीहरू रोजगारीको खोजमा सीमापार गरेका छन्। पर्वको चहलपहललाई उनीहरूले यो वर्ष मजदुरीको पसिनामा रूपान्तरण गर्ने छन्।
सुदूरपश्चिम र कर्णालीका गाउँका लागि भारत पुरानो गन्तव्य हो, तर यसपटकको दृश्य अझ पीडादायी छ—चाडपर्वको रमाइलो त्यागेर, परिश्रमको यात्रामा उत्रनु परेको बाध्यता। दसैँको फूलबारी र रङगीला पतंगको सट्टा उनीहरूको सपनामा छ केवल श्रमको मूल्य र तिहारमा घर फर्किने क्षणको उज्यालो आशा।