चाडपर्वमा यातायात व्यावसायिको ठगी धन्दा: खोटाङमा तोकिएभन्दा दोब्बर भाडा असुल

खोटाङ । दशैं–तिहारको अवसरमा घर फर्किने यात्रुहरु ठगिंदा चाडपर्वको रमाईलो भन्दा उल्टै मारमा परेका छन् । जिल्लामा सञ्चालित विभिन्न यातायात व्यवसायीले जिल्ला प्रशासन कार्यालयले तोकिदिएको दर बेवास्ता गर्दै यात्रुबाट प्रतिव्यक्ति तोकिएभन्दा रु ५०० देखि रु एक हजारसम्म बढी असुल गरेको खुलासा भएको छ ।

दिक्तेल–काठमाडौँ र काठमाडौँ–दिक्तेलका लागि प्रशासनले जिप (टाटासुमो) भाडा एकतर्फी रु २,००० निर्धारण गरे पनि यातायात व्यवसायीले रु २,५०० देखि रु ३,५०० सम्म उठाइरहेका छन् । दिक्तेल–धरान मार्गमा तोकिएको रु २,१०० को साटो अझै बढी असुल भइरहेको यात्रुले बताएका छन् । यात्रुलाई टिकट नदिई ‘रिजर्भ’ को नाममा अतिरिक्त भाडा असुल्ने प्रवृत्ति पनि खुलेको छ ।

ठगीको मारमा परेका यात्रुहरुले प्रहरी प्रशासन र सम्बन्धित निकाय मौन बसेको गुनासो गरेका छन् । खार्मी जाने यात्रुलाई दिक्तेलमै छोडेर पुनः अर्को टिकट खरिद गर्न बाध्य पारिएको, बाक्सिला–काठमाडौँ मार्गमा तोकिएको रु २,८०० को साटो रु ३,५०० असुल गरिएको, क्षमता भन्दा बढी यात्रु चढाइएको जस्ता घटनाले यात्रुको असुविधा बढाएको छ ।

जिल्ला प्रशासन कार्यालयले तोकिएकोभन्दा बढी भाडा असुले कारबाही गर्ने निर्णय गरेको भए पनि कार्यान्वयन हुन सकेको छैन । ट्राफिक प्रहरीले गुनासो औपचारिक रूपमा नआएको दाबी गरे पनि यात्रुहरुले प्रमाणसहित उजुरी दिँदा समेत सुनुवाइ नभएको बताएका छन् ।

यात्रुबाट मनपरी असुली गर्नेमा तुवाचुङ मारती यातायात प्रालि, पब्लिक मध्यपहाडी, सगरमाथा यातायातलगायतका व्यवसायी संलग्न रहेको नामैसहित यात्रुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *