काठमाडौं । सरकारका जिम्मेवार पदाधिकारीबाटै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन ल्याउने गतिविधि भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले चिन्ता जनाएको छ ।
आयोगको तर्फबाट आज विज्ञप्ति सार्वजनिक गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन ल्याउने कार्यलाई प्रश्रय नदिन सरकारको ध्यानाकर्षण गराइएको छ ।
केही दिनयता सञ्चारमाध्यम वा सामाजिक सञ्जालमार्फत प्रकाशित–प्रशारित समाचार, विचार, अभिव्यक्तिकै आधारमा पत्रकार तथा सञ्जाल प्रयोगकर्तामाथि धरपकड, धम्की, दुर्व्यवहारलगायत घटना भइरहेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।
आयोगले पत्रकार र तथा सञ्चार गृहमाथिको धम्की, दुर्व्यवहारजस्ता कार्य बन्द गर्न, यस्ता घटना दोहोरिन नदिने अवस्थाको सिर्जना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण रुपमा रक्षा र पत्रकारको सुरक्षामा संवेदनशील हुन सरकारलाई आग्रह गरेको छ ।
पत्रकार तथा प्रेसमाथि भइरहेको पछिल्लो घटनाहरु मानव अधिकारका मूल्य मान्यता विपरीत हुनुका साथै नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता, सञ्चारको हक, विचार तथा अभिव्यक्ति स्वतन्त्रता हक विपरीत भएको आयोगको ठहर छ ।
आयोगले पत्रकारिताको आचारसंहिता र व्यवसायिक मर्यादाको सीमाभित्र रहेर सत्यतथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्न पत्रकार तथा सञ्चार गृहहरुलाई पनि सचेत गराएको छ ।