रेसुङ्गा । गुल्मीदरबार गाउँपालिकाले गत आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ताका शीर्षकमा १३ करोड ३३ लाख रुपैयाँभन्दा बढी वितरण गरेको छ। पालिकाले अपाङ्गता, जेष्ठ नागरिक, विधवा महिला, दलित बालबालिका लगायतलाई भत्ता उपलब्ध गराएको हो।
यसअन्तर्गत गाउँपालिकाले ३९ जना अविवाहित नागरिकलाई पनि मासिक एक हजारका दरले चार लाख ५६ हजार रुपैयाँ भत्ता वितरण गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज घिमिरेले जानकारी दिए।
गाउँपालिकामा जेष्ठ नागरिक १,९१३, दलित जेष्ठ नागरिक १६३, जेष्ठ नागरिक एकल महिला ३१४, विधवा महिला ५८५, ‘ग’ वर्गका अपाङ्ग ९८, ‘क’ वर्गका पूर्ण अपाङ्ग ७८, ‘ख’ वर्गका अति अशक्त अपाङ्ग १४७ र पाँच वर्षमुनिका दलित बालबालिका १९९ रहेका छन्।
गत आर्थिक वर्षमा १५० जनाको लगत कट्टा गरिएको पालिकाले जन्म, मृत्यु र विवाह दर्तादेखि नागरिकता सिफारिस, नाता–आम्दानी प्रमाणिकरण, संस्था दर्ता र अनुगमनलगायत सेवामा हजारौं नागरिकले सुविधा पाएको जनाएको छ।
स्वास्थ्यतर्फ खोप, मातृ तथा नवजात स्वास्थ्य, परिवार नियोजनसँगै क्यान्सर, मिर्गौला प्रत्यारोपण, डायलाइसिस र स्पाइनल प्यारालाइसिस पीडितलाई उपचार सहयोग गरिएको छ। कृषितर्फ बिउ, मल, औजार वितरण, अनुदान, अभिमुखीकरण र फर्म दर्ता कार्यक्रम सञ्चालन गरिएको छ।
गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले गत वर्षको समीक्षा आगामी दिनका लागि नयाँ सिकाइ र दक्षता प्राप्त गर्ने अवसर भएको बताउँदै सबैको सुझावअनुसार नयाँ कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।