सल्यान। परम्परागत पानीघट्टलाई आधुनिक प्रविधिमा रुपान्तरण गर्दै सल्यानका एक युवा उद्यमीले गाउँघरमै नयाँ सम्भावना र रोजगारीको बाटो खोलेका छन्। बनगाड कुपिण्डे नगरपालिका–८ का ३३ वर्षीय घनश्याम केसीले विद्युतबाट चल्ने घट्ट निर्माण र बिक्री गरेर सल्यानदेखि देशभर माग बढाइरहेका छन्।
त्रिवेणी गाउँपालिका–३ दाङचुलीका घनश्यामले पहाडी बस्तीका बासिन्दाले अन्न पिस्न खोलासम्म पुग्नुपर्ने कठिनाइ देखेपछि पानीविनै चल्ने घट्टको विकास गरेका हुन्। सल्लीबजारस्थित कालिका इन्जिनियरिङ उद्योगमार्फत उनले हाल विद्युत घट्टको उत्पादन, बिक्री र वितरण गर्दै आएका छन्। सुरुमा आफ्नै घरमा सफल परीक्षण गरेपछि उनले उद्योग दर्ता गरी व्यवसाय विस्तार गरेका हुन्।
घनश्यामका अनुसार भारतीय सामग्री जडान भएको एक थान घट्टको मूल्य ढुवानीसहित करिब ८० हजार रुपैयाँ र चिनियाँ सामग्री प्रयोग भएको घट्ट ७० हजार रुपैयाँमा उपलब्ध हुन्छ। वर्षमा करिब ४० वटा विद्युतीय घट्ट उत्पादन हुने र वार्षिक १५ देखि २० लाख रुपैयाँसम्म आम्दानी हुने उनको अनुभव छ। उद्योग विस्तारसँगै बुटवल, सुर्खेत र काठमाडौंमा समेत सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको छ।
विद्युतीय घट्टले एक घण्टामा कोदो २० पाथी, गहुँ १५ पाथी र मकै १० पाथीसम्म पिस्न सक्छ। “पानी घट्टभन्दा सजिलो, छिटो र पानीको आवश्यकता नपर्ने भएकाले प्रयोगकर्ताले निकै सहज अनुभव गर्नुभएको छ,” घनश्यामले बताए।
स्थानीयवासीले पनि यस प्रविधिले पुराना झन्झट हटाएको बताउँछन्। “अब अन्न पिस्न टाढा जानु वा रातभर बास बस्नुपर्ने छैन,” बनगाड कुपिण्डे–८ का रामबहादुर यरीले खुशी व्यक्त गरे। पुरानो परम्परालाई आधुनिकतासँग जोड्दै घनश्यामको नवप्रवर्तन ग्रामीण अर्थतन्त्रमा प्रेरणादायी उदाहरण बनेको छ।