काठमाडौं। सार्वजनिक खरिद प्रणालीलाई अझ पारदर्शी, सक्षम र प्रभावकारी बनाउन आवश्यक रणनीति तथा सुधारका सम्भावनाबारे विस्तृत छलफल गर्न आयोजित विचार–गोष्ठी राजधानीमा सम्पन्न भएको छ । नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, भौतिक पूर्वाधार विभागीय समितिको आयोजनामा आज सडक विभागको सभाहलमा भएको कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात विभागीय कार्यसमितिका अध्यक्ष धनदेव जोशीको अध्यक्षतामा सम्पन्न गोष्ठीमा मन्त्रालयका सचिव केशव कुमार शर्मा प्रमुख अतिथि रहनुभयो भने सडक विभागका महानिर्देशक डा. विजय जैसी विशेष अतिथिका रुपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा सहभागी वक्ताहरूले सरकारी खरिद प्रक्रियामा देखिएका चुनौती, सुधारका उपाय र पारदर्शिताबारे आ–आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा एकीकृत सरकारी कर्मचारी संगठनका उपाध्यक्ष दिनेश लम्सालले ‘सार्वजनिक खरिद : वर्तमान अवस्था र सुधारका सम्भावना’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । प्रस्तुत कार्यपत्रमा मन्त्रालयका सहसचिव चुडाराज ढकाल र कृष्णराज पन्तले टिप्पणी गर्दै खरिद प्रक्रियालाई व्यावहारिक, सरल र उत्तरदायी बनाउन संस्थागत सुधार आवश्यक रहेको सुझाव दिनुभयो ।

कार्यक्रमको सञ्चालन संगठनको भौतिक पूर्वाधार मन्त्रालय विभागीय कार्यसमितिका सचिव ज्ञानमान श्रेष्ठले गर्नुभएको थियो । गोष्ठीमा उपस्थित सरोकारवालाहरूले यस्ता छलफल कार्यक्रमले सरकारी निकायभित्र दक्षता, पारदर्शिता र जवाफदेहिताको संस्कृति विकास गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका थिए ।
