काठमाडौँ । ग्रामीण भेगका स्थानीय तहमा आकस्मिक स्वास्थ्य सेवा सुदृढ गर्न काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स वितरण सुरु गरेको छ। महानगरले आर्थिक वर्ष २०८२/८३ को बजेटअनुसार देशभरका विभिन्न गाउँपालिकालाई ३५ वटा ‘बी–क्लास’ एम्बुलेन्स उपलब्ध गराउन थालेको हो।
महानगर स्वास्थ्य विभागका प्रमुख दीपक केसीका अनुसार अघिल्लो वर्षको निरन्तरतामा यो कार्यक्रम अघि बढाइएको हो। गत आव २०८१/८२ मा आठ करोड १० लाख रुपैयाँ विनियोजन गरी एम्बुलेन्स सहयोग गरिएको थियो। चालु आवमा पनि समान रकम विनियोजन गरी नगरसभाको निर्णयअनुसार ३५ थान एम्बुलेन्स खरिद गरिएकाले वितरण प्रक्रिया सुरु गरिएको उनले जानकारी दिए।
बोलपत्र प्रक्रियामार्फत श्री अग्नि इन्करपोरेटेड प्रालिसँग सम्झौता गरी आपूर्ति भएका एम्बुलेन्स प्राविधिक परीक्षणपछि वितरणका लागि योग्य ठहरिएका छन्। प्राप्त अनुरोध र मापदण्डका आधारमा छनोट भएका गाउँपालिकाका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र आधारभूत अस्पताललाई यी एम्बुलेन्स हस्तान्तरण गरिँदैछ।
एम्बुलेन्स पाएका स्थानीय निकायहरूले यो सहयोगलाई ग्रामीण स्वास्थ्य सेवाका लागि महत्वपूर्ण योगदानका रूपमा लिएका छन्। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर मियाँले गाउँमा आकस्मिक स्वास्थ्य सेवा सुदृढ हुने बताए।
त्यस्तै, सोलुखुम्बुको सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले “यो जनता–जनताबीचको सम्बन्ध सुदृढ पार्ने उत्कृष्ट उदाहरण हो,” भने। बैतडीको सिगास गाउँपालिकाका उपाध्यक्ष धना धामीले एम्बुलेन्स पाएकामा खुशी व्यक्त गर्दै यसको दीर्घकालीन व्यवस्थापनका लागि कार्यविधि बनाएर अघि बढ्ने बताए।
महानगरको यो पहलले स्वास्थ्य सेवामा पहुँच नपुगेका दुर्गम गाउँपालिकामा आकस्मिक उपचारका लागि राहतको स्रोतको रुपमा काम गर्ने अपेक्षा गरिएको छ।