आज संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक १ः १५ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको हो ।

प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

बैठकमा लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने र सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।
यता राष्ट्रिय सभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रतिनिधिसभाबाट सन्देसहित प्राप्त ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसैगरी, बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *