देशभर एन्टी स्नेक भेनम भ्याक्सिनदेखि आइरन चक्कीसम्मको अभाव

काठमाडौं । सरकारले समयमा नै खरिद नगर्दा देशभर एन्टी स्नेक भेनम अभाव भएको छ। वर्षातको समयमा धेरै सर्पदंसका बिरामीहरु बढ्ने हुँदा उपचारको लागि एन्टी स्नेक भेनम भ्याक्सिन आवश्यक पर्ने भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समयमा नै खरिद गरेर नल्याउँदा यसको अभाव हुन थालेको हो।

विशेषगरी गर्मी र वर्षातको समयमा सर्पदंसका बिरामीहरु धेरै देखिछन्। यसमा पनि विशेष गरेर तराईमा बिषालु सर्पहरुको डसाइ धेरै हुने हुँदा एन्टी स्नेक भेनम भ्याक्सिनको धेरै माग हुन्छ। हरेक वर्ष वर्षात र गर्मीको मौसममा सर्पदंसका घटना बढ्छ र त्यसको उपचारमा एन्टी स्नेक भेनम भ्याक्सिन आवश्यक पर्छ भन्ने थाहा हुँदाहुँदै पनि सयममा नै खरिद गरेर वितरण नगर्दा उक्त भ्याक्सिनको अभाव भएको हो।

यतिखेर प्रदेशहरुबाट एन्टी स्नेक भेनम भ्याक्सिनको माग धेरै भए पनि संघीय स्वास्थ्य मन्त्रालय प्रदेशहरुमा पर्याप्त मात्रामा पठाउन सकेको छैन।

स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाका अनुसार केही दिनअघि मात्रै बल्ल बल्ल खरिद गरेर ल्याएको ६० हजार भायल उक्त एन्टी स्नेक भेनम भ्याक्सिन केही मात्रामा सबै प्रदेशमा वितरण गरेको छ। तर यो प्रदेशहरुबाट माग भएर आए जति वितरण भने गरिएको होइन। व्यवस्थापन महाशाखाका एक कर्मचारीले भने ‘एन्टी स्नेक भेनम भ्याक्सिनको माग धेरै आइरहेको छ तर माग अनुसार दिन सकिएको छैन, केही दिन अघि सम्म त यो भ्याक्सिन थिदै थिएन समयमा नै खरिद नगर्दा यो अवस्था आएको हो तर केही दिनअघि मात्र ६० हजार भायल आएको थियो त्यही भ्याक्सिन सबै प्रदेशहरुमा बाँडेर पठाइएको छ’।

व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखा प्रमुख दयाकृष्ण पन्तले पनि एन्टी स्नेक भेनम भ्याक्सिनको माग धेरै भएको बताए। उनका अनुसार केही दिन अघि मात्र ६० हजार भायल आएको र अब छिट्टै एक लाखभन्दा बढी एन्टी स्नेक भेनम भ्याक्सिन आउने हुँदा अब अभाव नहुने बताए। ‘केही दिनअघि मात्र ६० हजार भायल आयो र हामीले सबै प्रदेशमा पठाइ पनि सकेका छौँ र अब छिट्टै एक लाखभन्दा बढी एन्टी स्नेक भेनम भ्याक्सिन आउने क्रममा छ। अब यो सबै आएपछि माग अनुसार वितरण गर्न सकिन्छ र अभाव हुँदैन।’

पछिल्ला वर्षहरूमा नेपालमा सर्पदंसका विरामीको संख्या बढ्दै गएको स्वास्थ्य मन्त्रालयको विवरणले देखाएको छ। मन्त्रालयको विवरणअनुसार आर्थिक वर्ष २०७७।७८ मा देशभर ७ हजार ९०२ जना सर्पदंशका विरामी भेटिँदा आव २०७८।७९ मा ९ हजार ३४६ जना भेटिएका थिए भने आव २०७९।८० मा आइपुग्दा ९ हजार १२० जना सर्पदंसका विरामी भेटिएका थिए।

विवरण हेर्दा कोशी प्रदेशमा सबैभन्दा धेरै सर्पदंसका विरामी भेटिएका छन् जसमा कोशी प्रदेशमा २ हजार ६१२ जना रहेका छन्। यसैगरी मधेश प्रदेशमा १ हजार ४६०, बागमती प्रदेशमा ९८८,गण्डकी प्रदेशमा १ हजार १९१, लुम्बिनी प्रदेशमा २ हजार ५१९ ,कर्णाली प्रदेशमा २०८ जना र सुदूरपश्चिम प्रदेशमा १४२ जना गत आर्थिक वर्षमा सर्पको टोकाइबाट विरामी भएका थिए। यसबाट कति विरामीको मृत्यु भयो भन्ने विवरण भने मन्त्रालयले सार्वजनिक गरेको छैन।

सरदर नेपालमा वार्षिक १०० जनाभन्दा बढी सर्पदंसका विरामीको मृत्यु हुने अनुमान गरिन्छ। तीमध्ये धेरै विरामीलाई गर्मी मौसममा सर्पको डसाइ धेरै हुने बताइन्छ।

आइरन चक्कीको पनि अभाव

एन्टी स्नेक भेनम भ्याक्सिन मात्रै होइन यतिखेर देशभर नै गर्भावस्था तथा सुत्केरीपछि ४५ दिनसम्म महिलाले अनिवार्य खानुपर्ने आइरन चक्की र फोलिक ट्याब्लेटको पनि अभाव छ।

केही संघ, प्रदेश र स्थानीय तहमा दुई महिनादेखि आइरन चक्की र फोलिक ट्याब्लेट अभाव भएको हो।

हरेक वर्ष आइरन चक्की प्रदेशबाट खरिद भएर स्थानीय तहमा वितरण हुँदै आएको थियो। दुई वर्षअघि संघले दुई वर्ष पुग्ने आइरन चक्की खरिद गरी स्थानीय तहलाई दिएको थियो तर अहिले आएर यही चक्की अभाव भएको हो।

देशभर आइरन चक्कीको अभाव हुँदै गएपछि स्वास्थ्य मन्त्रालयले युनिसेफ संग आइरन चक्की मागेको छ र युनिसेफले आइरनचक्की उपलब्ध गराइदिने प्रतिवद्धता सहित काम अगाडी बढाएको छ। अब युनिसेफले दिने भनेको आइरनचक्की आएपछि अभाव नहुने स्वास्थ्य सचिव डा विकास देवकोटाले बताए। स्वास्थ्य सचिव डा देवकोटाले भने ‘आइरन चक्की ल्याउने प्रकृया अगाडि बढीसकेको छ, युनिसेफले हामीलाई खरिद गरेर आइरनचक्की दिन्छु भनेर प्रकृया अघि बढिसकेको छ अबको ६ हप्ता भित्र आइपुग्छ तर हामीले त्यसको लागी राजस्व छुट भने दिनुपर्छ र यसको लागि मन्त्रालयले पनि समन्वय गरिरहेको छ।’

सरकारले गर्भवती, सुत्केरी र किशोरीलाई आइरन चक्की निःशुल्क वितरण गर्दै आएको छ। साथै, विद्यालय स्वास्थ्य अन्तर्गत विद्यालयमा अध्ययनरत किशोरीलाई निःशुल्क आइरन चक्की वितरण गर्दै आएको छ।

चिकित्सकका अनुसार शरीरमा हेमोग्लोबिन बनाउन आइरन जरुरत हुन्छ। गर्भावस्था र सुत्केरी अवस्थामा हेमोग्लोबिनको मात्रा कमी नहोस् भनेर आइरन चक्की दिइन्छ। सामान्यतया महिलाको १३ ग्रामप्रति डेसिलिटर हेमोग्लोबिन आवश्यक पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *