गुल्मी रेसुङ्गाको अर्जुन डाँडामा हावाबाट उर्जा उत्पादन गर्ने तयारी

रमेश विश्वकर्मा
गुल्मी। गुल्मीको रेसुङ्गा नगरपालिका– ७ मा १०० किलोवाट क्षमताको हावाद्वारा ऊर्जा परियोजना स्थापना गर्ने तयारी सुरु गरिएको छ । वडाध्यक्ष रामप्रसाद पन्थी (राम्जी) को अगुवाइमा आयोजित सर्वदलीय र सर्वपक्षीय बैठकले वडाका सबै जनप्रतिनिधिहरूको सहमतिमा यो योजना अघि बढाउने निर्णय गरिएको हो ।

बैठकमा वडाको समग्र विकासका लागि दीर्घकालीन ऊर्जा योजना प्रस्तुत गर्दै बजेटको प्रभावकारी उपयोगका लागि वडाध्यक्ष पन्थीले आग्रह गर्नुभयो । उहाँले अर्जुन क्षेत्रलाई मुख्य पर्यटकीय गन्तव्य मात्र नभई, हावा ऊर्जा उत्पादनको उपयुक्त केन्द्रका रूपमा विकास गर्न आवश्यक रहेको भन्दै दुई वर्षअघि वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रमा सिफारिस गरिसकेको बताउनुभयो । वडाको सिफरिस अनुसार हाल मन्त्रालयलले सम्भाव्यता प्रक्रिया अघि बढाएको उहाँले जानकारी दिनुभयो ।

वडाबाट १०० किलोवाट क्षमताको हावा विद्युत् उत्पादन गर्ने योजना रहेको र अर्जुनबाट उनायचौर सबस्टेशनको दूरी करिब आठ सय मिटर मात्र भएकाले उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा बिक्री गर्न सकिने धारणा राख्नुभयो । उहाँका अनुसार यस परियोजनाबाट दैनिक ८ हजार रुपियाँ, मासिक दुई लाख ४० हजार रुपियाँ र वार्षिक २८ लाख ८० हजार रुपियाँसम्मको आम्दानी गर्न सकिने प्रारम्भि अनुमान समेत गरिएको छ ।

सिङ्गो नगरपालिकामा १ मेगावाट विद्युत उत्पादन गर्न सकिने सम्भावना रहेको भन्दै नगरस्तरमै ठूलो आर्थिक स्रोत विकास गर्न सकिने उहाँले बताउनुभयो । योजनाको प्रारम्भिक चरणका लागि एक करोड ५० लाख रुपियाँ लगानीमा सम्भाव्यता अध्ययन तथा आवश्यक प्रारम्भिक संरचना तयार गर्ने योजना छ । सो लगानीमा वडावासीहरूलाई सेयरमार्फत सहभागी गराइनेछ र बाँकी बजेट प्रदेश, संघ र वैकल्पिक ऊर्जा केन्द्रबाट समन्वय गरी जुटाइने जनाइएको योजना रहेको वडाअध्यक्ष पन्थीले बताउनुभयो ।

वडाका सम्पूर्ण जनप्रतिनिधिहरूले योजना उपयुक्त रहेको भन्दै ऐक्यबद्धता जनाएका छन् । योजना सर्वपक्षीय सहमतिमा अघि बढाउने सहमति बैठकबाट गरिएको छ । यस आर्थिक वर्षमा सो वडामा सर्वदलिय बैठकबाट नगरपालिकाबाट प्राप्त बजेट लक्षित क्षेत्र बाहेक अन्य भौतिक पूर्वाधार निर्माणमा खर्च नगरी सोही कार्यका लागि उपयोग गर्ने गरी सहमति बनेको समेत उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *