दुर्घटनामा घाइते पत्रकारलाई प्रेसकाउन्सिलले आर्थिक सहयोग गर्ने (विज्ञप्ति सहित)

काठमाडौँ । मुग्लिङ–नारायणगढ सडकखण्डमा पहिरोको समाचार सङ्कलनका क्रममा दुर्घटनामा परेर घाइते भएका पत्रकारलाई प्रेस काउन्सिल नेपालले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

काउन्सिलको आज बसेको बोर्ड बैठकले पत्रकार अनिल ढकाल, सुजन पौडेल तथा ‘जेनजी’ प्रदर्शन कभरेजका क्रममा घाइते भएका अन्य पत्रकारलाई काउन्सिलको पत्रकार कल्याण कोषबाट सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।

बैठकले जोखिमपूर्ण क्षेत्र वा प्राकृतिक विपद्को समाचार संकलन गर्दा सुरक्षा सावधानीलाई प्राथमिकता दिन सम्पूर्ण सञ्चारमाध्यम र पत्रकारलाई विशेष आग्रह गरेको छ। दुर्घटना भएको खण्डमा तत्काल उपचार र आवश्यक व्यवस्थापनमा ध्यान दिनुपर्नेमा पनि जोड दिइएको छ।

त्यसैगरी, पत्रकार आचारसंहिताविपरीत सामग्री सम्प्रेषण भइरहेका घटना बढ्दै गएको काउन्सिलको मूल्यांकन छ। सो प्रवृत्ति रोक्न सूक्ष्म अनुगमन गर्ने र यही महिनाभित्र विज्ञसहित विस्तृत छलफल गर्ने तयारी पनि बैठकले गरेको छ।

प्रेस काउन्सिलले हालैका विभिन्न प्रदर्शनका क्रममा सञ्चारकर्मीमाथि भएका आक्रमणप्रति दुःख व्यक्त गर्दै स्वतन्त्र र सुरक्षित पत्रकारिताका लागि आवश्यक पहल निरन्तर गरिने प्रतिवद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *