बर्दिया । राजापुर नगरपालिका–७ शङ्करपुरका बासिन्दा वर्षौंदेखि सडक निर्माण नहुँदा ठूलो सास्ती खेपिरहेका छन्। सडक अभावले दैनिक जीवन मात्र होइन, विद्यालय जाने बालबालिका समेत जोखिमपूर्ण यात्रामा बाध्य भएका छन्।
ईश्वरटोल, वीरबहादुर टोल र बलबहादुर टोलका स्थानीयले पटक–पटक नगरपालिका र वडा कार्यालयमा सडक निर्माणका लागि माग गरे पनि अझै समाधान भएको छैन। बर्खामा सडकमा पानी जमेर आवतजावत नै असम्भव हुने गरेको छ। त्यसै बाटो हुँदै सरस्वती बाल प्रावि र बुद्ध आधारभूत विद्यालयमा जाने विद्यार्थीहरूलाई विद्यालय आउन–जान कठिनाइ भएको अभिभावकहरूले गुनासो गरेका छन्।
स्थानीय तारा विकका अनुसार, विद्यालय जान मात्र नभई घर फर्कन पनि समस्या हुने गरेको छ। सडक अभावले मानिसहरू बजार, अस्पताल र दाहसंस्कारका लागि समेत जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
वडाध्यक्ष रामु थारूका अनुसार, सडक निर्माण गर्न पटक–पटक प्रयास भए पनि स्थानीयबीचको विवादका कारण काम अघि बढ्न सकेको छैन। करिब ५० घरधुरी बसोबास गर्ने उक्त टोलका बासिन्दाले सडक अभावका कारण अझै पनि दुर्गम जीवन व्यतीत गर्न बाध्य भएका छन्।