सर्लाही । विगत चार दिनदेखि निरन्तर चलेको शीतलहरका कारण सर्लाहीसहित मधेश प्रदेशको जनजीवन कष्टकर बनेको छ । हुस्सु र कुहिरोसहितको कठ्याङ्ग्रिने चिसोले दैनिक जनजीवन प्रभावित हुँदा बालबालिका, वृद्धवृद्धा, अशक्त तथा दीर्घरोगीहरू सबैभन्दा बढी समस्यामा परेका छन् ।
शनिबारदेखि सुरु भएको शीतलहरले रातदिन नै चिसो बढाइरहेको छ । चिसो छल्न मानिसहरू बिहान र बेलुका घर, चोक, चौतारा तथा बजार क्षेत्रमा आगो तापेर बसिरहेको दृश्य सामान्य बनेको छ ।
यद्यपि न्यानो कपडाको अभावमा विपन्न, दलित तथा सीमान्तकृत समुदायका परिवारहरू चिसो सहन बाध्य छन् । चिसोबाट प्रभावितलाई राहत प्रदान गर्न स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति तथा सरोकारवाला निकायहरूको सक्रियता नदेखिएको स्थानीयको गुनासो छ ।
हुस्सु र कुहिरोको प्रभावले कृषि क्षेत्रमा समेत असर परेको छ । तोरी, आलु, लहरी, चनालगायतका बालीमा क्षति पुग्ने चिन्ताले किसानहरू चिन्तित बनेका छन् । साथै, चौपाय र पन्छीहरू पनि अत्यधिक चिसोबाट प्रभावित भएको स्थानीयले बताएका छन् ।
दिउँसोपख मौसम केही खुल्ने गरे पनि पछिल्ला चार दिनदेखि घाम नलाग्दा सरसफाइ र दैनिक कामकाज प्रभावित भएको छ । सर्लाहीको चुरेवर्ती क्षेत्र र पूर्व–पश्चिम राजमार्ग आसपासको तुलनामा सदरमुकाम मलङ्गवासहित दक्षिणी भेगमा हुस्सु र कुहिरो अझ बाक्लो हुने गरेको जनाइएको छ ।
बाक्लो कुहिरोका कारण नजिकको दृश्यसमेत प्रष्ट नदेखिँदा सवारी साधनहरू दिउँसै बत्ती बालेर सञ्चालन गर्नुपरेको छ, जसले आवागमन थप जोखिमपूर्ण बनेको छ ।
चिसोका कारण चिसोजन्य रोगको जोखिम बढ्न सक्ने भन्दै चिकित्सकहरूले बालबालिका र वृद्धवृद्धासहित सबैलाई न्यानो भएर बस्न, ताता तथा झोलिला खानेकुरा सेवन गर्न र स्वास्थ्यप्रति सचेत रहन आग्रह गरेका छन् ।
