बाढीपहिरोको उच्च जोखिममा हुम्लाका बत्तिस वटा बस्ती

हुम्ला । हिमाली जिल्ला हुम्लाका बत्तिस वटा बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । भिरालो जमिन भएको स्थानमा बस्ती बसेका कारण वर्र्षा भएसँगै आउने बाढीपहिरोका कारण ती बस्ती उच्च जेखिममा रहेका छन् ।

ताँजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले आफ्नो गाउँपालिकाका पाँच वटै वडाका गरी सात वटा बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको बताउनुभयो । उहाँले हरेक वर्ष बर्खायाममा पहिरो गइरहने भए पनि स्थानीय बासिन्दालाई विकल्प नहुँदा त्रासबिच ती बस्तीमा बस्न बाध्य रहेको बताउनुभयो । उक्त गाउँपालिकाका वडा अनुसार जोखिममा रहेका बस्तीमा वडा नं. १ को कोलपेल्ना, २ नम्बरको दलितबाडा, ३ को भियालबाडा र रोकायाबाडा, ४ को ओखडेना टोल र वडा नं. ५ को लेटपाटा र दलितबाडा रहेका छन् ।

अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले भिरालो जमिनमा बस्ती भएका कारण पालिका पूरै जोखिममा रहेको भए पनि बढी जोखिममा रहेका बस्तीमा वडा नं. १ को कल्खे, २ को श्रीनगर र वडा नं. ६ को पाल्स बस्ती रहेको बताउनुभयो । यता चङ्खेली गाउँपालिका– ५ को नेक्पा गाउँ पनि पहिरोको उच्च जोखिममा रहेको छ । जिल्ला विपत् व्यवस्थापन समितिका अनुसार सर्केगाड गाउँपालिका–१ को छिडी नात्ता, २ को रिप, ३ रातोपानी, ६ को गिउसी र ८ को राहदेव गाउँ पहिरोको उच्च जोखिममा रहेका छन् ।

त्यसै गरी खार्पुनाथ गाउँपालिका–२ को थाली र सेराडिल, ३ को कारङ, ५ को खर्पेल गाउँँ पहिरोको उच्च जोखिममा रहेका छन् । यता सिमकोट गाउँपाालिका–१ को दोजाम, कुम्लिक जिउलो, ४ को स्याम्ने र ५ को खाद्यक गाउँ बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका–१ को ताङ्गिन, हेक्पा धिंगा, गाडापारि, ३ को च्यादुक, ४ को चाला, ५ को मुचु र ६ को तिल र हल्जी गाउँ पनि बाढीपहिरोको उच्च जोखिममा रहेका छन् ।

बाढीपहिरोको उच्च जोखिममा रहेका बस्ती धेरै भएको र यस वर्ष मौसम पूर्वानुमान अनुसार पनि यस पटक बढी वर्षा हुने भनिएको छ । जिल्ला विपत् व्यवस्थापन समितिबाट निर्णय गरेर वडा, गाउँँपालिका र अन्य यस क्षेत्रमा काम गर्ने सरोकारवाला पक्षलाई पूर्वतयारी अवस्थामा रहने व्यवस्था गर्न आग्रह गरिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *