काठमाडौं । दशैं मनाउने तयारी भइरहेको बेलामा देशभर वर्षाको प्रकोप बढ्ने देखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबार राति जारी गरेको ‘दसैं विशेष मौसम बुलेटिन’ अनुसार असोज १७ गतेदेखि (अक्टोबर ३) नेपालमा मनसुनी गतिविधि तीव्र हुने भएकाले भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ ।
महाशाखाले दिएको जानकारी अनुसार हाल मनसुन केही कमजोर भए पनि बंगालको खाडीमा बनेको न्यून चापीय प्रणाली भारत हुँदै नेपाल प्रवेश गर्ने क्रममा छ । त्यसैका कारण असोज १७ गतेदेखि कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन सक्रिय हुने अनुमान गरिएको छ ।
मौसम पूर्वानुमान :
असोज १७ (अक्टोबर ३, एकादशी): कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, एक–दुई स्थानमा भारी वर्षाको सम्भावना।
असोज १८ (अक्टोबर ४, द्वादशी): कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा, थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना।
असोज १९ (अक्टोबर ५, त्रयोदशी): कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा वर्षा तीव्र, थोरै स्थानमा भारीदेखि धेरै भारी र एक–दुई स्थानमा अति भारी वर्षा हुने पूर्वानुमान। अन्य प्रदेशमा पनि मध्यम वर्षाको संभावना।
सतर्कता आवश्यक
भारी वर्षाले दशैं अवधिमा बाढी, पहिरो, भूक्षय र यातायात अवरुद्ध हुने जोखिम बढ्ने भएकाले विभागले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी यात्रा तथा बाहिरी गतिविधि गर्दा मौसमको अद्यावधिक जानकारी लिन र आवश्यक सुरक्षा कदम चाल्न सबैलाई अनुरोध गरिएको छ ।