काठमाडौं । चिकित्सकीय भाषामा महिनावारी रोकिनुलाई ‘एमेनरीआ’ भनिन्छ । सामान्यतः गर्भावस्था यसको प्रमुख कारण हो, तर अन्य स्वास्थ्य समस्याले पनि महिनावारीमा गडबडी ल्याउन सक्छ । सामान्यतया, प्रजनन उमेरका महिलामा प्रत्येक २८ दिनमा महिनावारी हुन्छ, जसमा दुई-चार दिनको तलमाथि सामान्य मानिन्छ ।
तर, बारम्बार महिनावारी अनियमित भएमा वा लामो समयसम्म नहुँदा यो गम्भीर स्वास्थ्य समस्याको सङ्केत हुन सक्छ । यूकेको न्याश्नल हेल्थ सर्भिसले गर्भावस्थाबाहेक लगातार तीन महिना महिनावारी अनियमित भएमा वा ४५ वर्ष नपुग्दै रोकिएमा चिकित्सकसँग परामर्श गर्न सुझाएको छ । १५ वर्षको उमेरसम्म महिनावारी सुरु नभएमा पनि चिकित्सकीय सल्लाह लिनुपर्ने हुन्छ ।
महिनावारी रोकिनुका प्रमुख कारणहरू
१.तनाव
तनावले एड्रेनालिनजस्ता हर्मोनको उत्पादनमा असर पार्छ, जसले महिनावारीलाई ढिलो, पीडादायी वा पूर्ण रूपमा रोकिदिन सक्छ । तनाव व्यवस्थापनका लागि नियमित व्यायाम र श्वासप्रश्वास अभ्यासको आवश्यक मानिन्छ । यदि यो प्रभावकारी नभए, संज्ञानात्मक-व्यवहार थेरपी (सीबीटी) उपयोगी हुन सक्छ ।
२.अचानक तौल घट्नु
अत्यधिक क्यालोरी नियन्त्रणले डिम्बोत्पादनका लागि आवश्यक हर्मोन उत्पादनमा कमी ल्याउँछ । १८ प्रतिशतभन्दा कम बीएमआई भएका महिलालाई पोषणविद्को सल्लाह लिन सुझाव दिन्छन् । एनोरेक्सियाजस्ता खानपान समस्यामा मनोचिकित्सकको सहयोग चाहिन्छ ।
३. मोटोपन
अधिक तौलले इस्ट्रोजन हर्मोनको उत्पादन बढाउँछ, जसले महिनावारीलाई प्रभावित गर्छ । ३० भन्दा माथिको बीएमआई भएकाहरूलाई स्वस्थ तौलका लागि पोषणविद्को सल्लाह लिन आवश्यक हुन्छ ।
४.अत्यधिक व्यायाम
चरम शारीरिक कसरतले हर्मोनमा असर पार्छ र डिम्बोत्पादन रोकिन सक्छ । यस्तो समस्याबाट बच्नेको लागि व्यावसायिक खेलाडीहरूलाई खेलकुद चिकित्सकको सल्लाह उपयोगी हुन्छ ।
५. पोलिसिस्टिक ओभरी सिन्ड्रोम
पीसीओएसले डिम्बाशयमा साना थैलीहरू बनाउँछ, जसले डिम्बोत्पादनमा बाधा पु¥याउँछ । यो यूकेमा १० मध्ये एक महिलालाई प्रभावित गर्छ ।
६.रजनोवृत्ति
४५-५५ वर्षको उमेरमा रजनोवृत्ति सामान्य हो, तर १०० मध्ये एक महिलामा ४० वर्षअघि नै यो हुन सक्छ ।
७.गर्भनिरोधक
गर्भनिरोधक चक्की, सुई वा उपकरणले महिनावारी रोकिन सक्छ ।
८. अन्य स्वास्थ्य समस्या
मधुमेह, थाइराइड वा दीर्घकालीन औषधिले पनि एमेनरीआ निम्त्याउन सक्छ ।
महिलाहरूले आफ्नो शरीर बुझ्नु र अनियमितताको सङ्केत देखिए चिकित्सकसँग परामर्श गर्नु महत्त्वपूर्ण छ ।