काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै बाढी–पहिरो र डुुबानको जोखिम बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज पनि देशका १२ जिल्लामा भारीदेखि अति भारी बर्षाको सम्भावना रहेको जनाउँदै बाढी पहिरोको जोखिमबाट सतर्क रहन सूचना जारी गरेको छ । बाढी महाशाखाका अनुसार आज कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने तर बढ्ने पनि सम्भावना रहेकाले ती नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन जरुरी छ ।
यस्तै जिल्लाका हिसाबले भने आज कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, डोटी, बैतडी, दार्चुला, काठमाडौँ, ललितपुर, भक्तपुर र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने उच्च सम्भावना छ । यसैले ती जिल्लाका खोला÷नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ ।
आज पर्वत, बागलुङ, रोल्पा, म्याग्दी, प्युठान, गुल्मी, दाङ, बाँके, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, अर्घाखाँची, रुकुमपश्चिम, सल्यान, जाजरकोट, कालिकोट, दैलेख, अछाम, डडेलधुरा, बझाङ र आसपासका जिल्ला भई वहने केही ससाना नदीको पनि बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम देखिएको छ। अतः ती जिल्लाका खोला÷नदीका तटीय क्षेत्रमा पनि उच्च सतर्कता अपनाउन आवश्यक रहेको बाढी महाशाखाले जनाएको छ । उल्लिखित २९ जिल्लालाई बाढी महाशाखाले पहेँलो रङ अर्थात् एल्लो अलर्टमा राखेको छ। र पहेँलो लगाइएका जिल्लाका लागि ५ क्षेत्र तोक्दै सतर्कता अपनाउन चेतावनी दिइएको छ ।
–पहाडी तथा चुरे क्षेत्रका भिरालि तथा पहिरोग्रस्त क्षेत्रका बस्तीहरू ।
–नदी किनार तथा खोला आसपासका बस्तीहरू ।
–मुख्य तथा सहायक सडक यातायात ।
–जलविद्युत् आयोजना तथा नदी क्षेत्रमा निर्माणाधीन संरचना ।
–कृषि क्षेत्र तथा सिँचाइ प्रणाली ।