काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्ना सामुदायिक विद्यालयमा डिजिटल शिक्षा विस्तारको ठुलो कदम चालेको छ। तिहारअघि नै ८७ सामुदायिक विद्यालयमा एक हजार ६० स्मार्टबोर्ड जडान गर्ने अभियानमा महानगर अघि बढेको छ, जसबाट करिब ५३ हजार विद्यार्थी प्रत्यक्ष लाभान्वित हुनेछन्।
महानगरका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत हालसम्म ४९० स्मार्टबोर्ड जडान भइसकेको र बाँकी ५७० बोर्डका लागि आवश्यक बजेट निकासा भइसकेकाले चाँडै स्थापना हुने जानकारी दिएका छन्। उनका अनुसार डिजिटल शिक्षा प्रवर्द्धन महानगरको पहिलो प्राथमिकता हो।
“विद्यार्थीमा गर्ने लगानीले मात्रै उनीहरूलाई आफ्नो विद्यालय, समाज र देशप्रति गर्व गर्न सक्ने आधार तयार हुन्छ भन्नेमा हामी स्पष्ट छौँ,” शाहले भने। उनले यो अभियानलाई सफल बनाउन सम्पूर्ण अभिभावक, शिक्षक र समुदायको सहभागिता अपरिहार्य रहेको बताए।
स्मार्टबोर्ड जडानसँगै काठमाडौँ महानगरका सामुदायिक विद्यालयहरू अत्याधुनिक शिक्षण प्रविधिले सुसज्जित हुने र शिक्षण सिकाइको स्तरमा नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ।