वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट रु सात अर्ब १६ लाख बराबरका सवारीसाधन र पार्टपुर्जा भित्रिएका छन्। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब रु एक अर्ब ७५ करोड बढी हो।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत वर्षको सोही अवधिमा रु पाँच अर्ब २५ करोड मूल्यका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका थिए। भन्सार प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार यस अवधिमा सवारीसाधनको आयातसँगै राजस्व संकलनमा समेत उल्लेखनीय वृद्धि भएको छ।
गत वर्ष दुई महिनामा सवारीसाधन आयातबाट रु चार अर्ब ४७ करोड ७६ लाख राजस्व संकलन भएकोमा यस वर्ष सोही अवधिमा राजस्व रु छ अर्ब १३ करोड ९२ लाख पुगेको छ। चालु आवको दुई महिनामा मात्र रु ४३ करोड ५२ लाख मूल्यका १७८ वटा जीप, कार र भ्यान, रु दुई अर्ब ७९ करोड मूल्यका २० हजार ६२० अनअसेम्बल्ड मोटरसाइकल र रु ६६ करोड ४३ लाख मूल्यका ३१८ वटा बस–ट्रकका चेसिस आयात भएका छन्।
गत वर्षको तुलनामा जीप, कार र भ्यानको संख्या केही घटे पनि मोटरसाइकलसहित समग्र सवारीसाधनको आयात र राजस्व दुवैमा उल्लेखनीय वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ।