काठमाडौं । लगातारको वर्षा र बाढी–पहिरोका कारण आज देशका मुख्य यातायात सञ्जाल ठप्प छन्। नेपाल प्रहरीले दिएको ताजा जानकारीअनुसार पाँच प्रमुख राजमार्ग पूर्ण रूपमा बन्द छन् भने सात ठाउँमा सडक केवल एकतर्फी मात्र सञ्चालनमा छन्।
कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवा क्षेत्रमा पहिरो र बाढीका कारण सडक पूर्णरूपमा अवरुद्ध छ। यस्तै, रसुवाको गोसाइकुन्ड गाउँपालिका–२ स्थित नेपाल–चीन सीमा जोड्ने पुल पूर्ण रूपमा बन्द भएको छ।
पासाङ ल्हामु राजमार्गमा पनि आवागमन रोकिएको छ। रसुवाको गोसाइकुन्ड–२ बालुवाखानी खण्डमा आएको ठूलो पहिरोले यातायात पूर्ण रूपमा अवरुद्ध पारेको हो। त्यस्तै अरनिको राजमार्गमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारी क्षेत्रमा समेत सडक पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएको छ।
यसैबीच, मुग्लिन–नारायणगढ सडक खण्ड लामो प्रयासपछि आंशिक रूपमा खुलेको छ। हाल एकतर्फी आवागमन भइरहेको भए पनि राति जोखिम हुने भन्दै यातायात रोकिएको छ। त्यसैगरी, कालिगण्डकी करिडोर पनि बागलुङ नगरपालिका–१३ कालाखोलामा पहिरो गएपछि अहिले एकतर्फी सञ्चालनमा छ।
सुरक्षाकर्मी र प्राविधिक टोलीले अवरुद्ध स्थानहरूमा सडक सुचारु गर्न निरन्तर प्रयास गरिरहेका छन्। तर वर्षा रोकिएर पहिरो पन्छाउने काममा समय लाग्ने भएकाले यात्रुलाई वैकल्पिक मार्ग अपनाउन र सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।