काठमाडौं । नुवाकोटमा गएराति सुतेकै ठाउँमा बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । ककनी गाउँपालिका–१, भसिबुस्थित बिमचना खोलामा आएको बाढीले गोठ बगाउँदा त्यसमा श्रीमान्सँगै सुतिरहेकी ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी हुन्।
उनका श्रीमान् भने गम्भीर घाइते भएका छन् । नुवाकोटका प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मीले खोलाले बगाउँदा कमला बेपत्ता भएको र उनका श्रीमान अशोक गम्भीर घाइते भएको जानकारी दिए । गम्भीर घाइते भएका अशोकलाई उपचारका लागि काठमाडौं ल्याइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
बेपत्ता महिलाको खोजी भइरहेको उनले बताए । ठूलो वर्षाका कारण खोलामा आएको बाढीले बलामी दम्पती सुतेको समेत तीन गोठ बगाएको छ । खोलाले पशुचौपायासहित विभिन्न सामान पनि बगाएको स्थानीयले बताएका छन् ।