बसाइँसराइको प्रभावले पर्वतका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या शून्य हुँदै

पर्वत । जिल्लाको दक्षिणी भेग बिहादी गाउँपालिकामा बसाइँसराइको बढ्दो प्रभावसँगै सामुदायिक विद्यालयहरू विद्यार्थीविहीन बन्दै गएका छन् । पालिकाको बिहादी–४ तलातुमगाउँमा रहेका घरधुरी प्रायः खाली भएपछि सोही गाउँस्थित सगरमाथा माध्यमिक विद्यालयमा विद्यार्थी सङ्ख्या शून्य भएको हो ।

वडाध्यक्ष विष्णु भुसालका अनुसार गाउँमा पहिले झण्डै ८० घरधुरी भए पनि अहिले जम्मा १२ परिवार मात्र बसोबास गर्छन्, बाँकी सबै अन्यत्र बसाइँसराइ गरिसकेका छन् । “गाउँ रित्तिँदै जाँदा विद्यालय पनि विद्यार्थीविहीन भएको हो,” उनले बताए ।

२०७९ सालमा प्रावि तहका रूपमा स्थापना भई पछि माध्यमिक तहसम्म विस्तार भएको सगरमाथा मावि राम्रो भौतिक संरचनायुक्त विद्यालय हो । तर अहिले विद्यार्थी नभए पनि प्रधानाध्यापकसहित तीन जना शिक्षक दैनिक हाजिरी बुझाइरहेका छन् ।

शिक्षा अधिकृत भीम नेपालीका अनुसार विद्यार्थी घटेपछि केही शिक्षकको सरुवा भइसकेको छ भने बाँकी तीन जनाको सरुवा अझै मिल्न बाँकी छ । उनले भने, “यो विद्यालय गाउँकै पुराना र व्यवस्थित संरचना भएको विद्यालय हो, तर बसाइँसराइका कारण अस्तित्व संकटमा परेको छ ।”

यसअघि पनि बिहादी गाउँपालिकाका जनसेवा प्रावि र बालज्योति प्रावि विद्यार्थीविहीन भइसकेका थिए । अहिले थपिएको सगरमाथा माविसहित जिल्लामा विद्यार्थी शून्य भएका विद्यालयको संख्या ३२ पुगेको छ । तीमध्ये अधिकांश प्रावि तहका विद्यालय भए पनि मावि तहका विद्यालयमध्ये फलेवास नगरपालिकाको ध्रुव नमुना मावि र बिहादी गाउँपालिकाको सगरमाथा मावि शून्य विद्यार्थी हुने सूचीमा परेका छन् ।

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतीलाल चापागाईंका अनुसार, विद्यार्थी नभएका विद्यालयलाई एकीकृत गर्ने प्रक्रिया अघि बढाइए पनि कार्यान्वयनमा भने प्रभावकारी प्रगति भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *