भक्तपुर । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशका १३ जिल्लामा क्रियाशील सबै पत्रकारलाई निःशुल्क स्वास्थ्य बिमामा समेटिने घोषणा गरेका छन्।
आइतबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले स्वास्थ्य बिमाबापतको सम्पूर्ण प्रिमियम प्रदेश सरकारले व्यहोर्ने व्यवस्था मिलाइएको जानकारी दिए। उनले यसका लागि चालु आर्थिक वर्षमा नै रु २० लाख बजेट छुट्याइएको र कार्यविधि तयारीमा रहेको बताए।
मन्त्री थापाका अनुसार पत्रकारलाई पाँच सदस्यीय परिवार मानेर समूहमा आबद्ध गराइनेछ। प्रिमियम शुल्क सरकारले तिर्ने भएकाले पत्रकारले स्वास्थ्य बिमा सेवामार्फत दीर्घकालीन लाभ लिन सक्ने व्यवस्था मिलाइनेछ।
उनले पत्रकारको स्वास्थ्य सुरक्षामा यो योजना महत्त्वपूर्ण कदम हुने उल्लेख गर्दै, ‘पत्रकारहरूको स्वास्थ्यप्रति हामी गम्भीर छौँ। यो कार्यक्रम लागू भएपछि दीर्घकालीन सुधार हुनेछ,’ भने।
त्यससँगै उनले स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी, एक घण्टा मेरो लागि’ अभियान, ‘एक जिल्ला, एक स्वस्थ सहर’ र ‘एक स्थानीय तह, एक नमूना स्वास्थ्य संस्था’ जस्ता नयाँ कार्यक्रम यसै वर्षदेखि सुरु हुने जानकारी दिए।
मन्त्री थापाले प्रदेशका १३ प्रादेशिक अस्पताल मात्र नभई विकट क्षेत्रका नागरिकलाई समेत सहज स्वास्थ्य सेवाको पहुँच पु¥याउने गरी योजना अघि बढाइएको बताए। उनले स्वास्थ्य सामग्री, औषधि र उपकरण लिएर गाउँगाउँ पुग्ने अभियानले आमनागरिकलाई परिवर्तनको अनुभव दिलाउने विश्वास व्यक्त गरे।