मधेशमा आत्महत्याको डरलाग्दो अवस्था : बालिकाको संख्या वर्षैपिच्छे बढ्दै

जनकपुर। मधेश प्रदेशमा आत्महत्याका घटनाहरू दिनप्रतिदिन डरलाग्दो स्तरमा बढिरहेका छन् । आँकडा मात्रै होइन, प्रत्येक घटना पछाडि एउटा टुटेको परिवार, चकनाचुर सपनाहरू र नबोलिएका पीडाका कथा लुकेका छन् ।

प्रदेशका आठ वटै जिल्लामा गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै १,२५३ जनाले आत्महत्या गरेर जीवनको अन्त्य गरेका छन् । तीमध्ये महिलाको संख्या (४७५) पुरुष (४६७) भन्दा बढी छ, जबकि बालबालिकामध्ये पनि बालिका (२४६) बालक (६५) भन्दा चार गुणा बढी आत्महत्यामा उत्रिएका छन् । यी आँकडाले मधेशमा विशेष गरी किशोरीहरू गहिरो मानसिक संकटमा धकेलिएका छन् भन्ने संकेत गर्छन् ।

आँकडाले देखाएको पीडा:

-२०८१/८२ मा १,२५३ आत्महत्या,

४७५ महिला, ४६७ पुरुष, २४६ बालिका, ६५ बालक

-२०८०/८१ मा १,२७८ आत्महत्या,

५४० पुरुष, ४७० महिला, २०१ बालिका, ६७ बालक

संख्या हेर्दा देखिन्छ— आत्महत्यामा बालिकाको संख्या वर्षैपिच्छे बढ्दै गएको छ । विशेष गरी परीक्षा वा प्रेममा असफल, हनी ट्र्याप, घरेलु झगडा, वा डिप्रेसनका कारण किशोरीहरूले आफ्नो जीवन समयमै समाप्त गर्न खोजेका अनुसन्धान अधिकारीहरूले बताएका छन् ।

किन हराउँदैछन् जीवन ?

प्रहरी र अनुसन्धानकर्ताले देखाएका कारणहरू–घरायसी विवाद र मानसिक तनाव, आर्थिक संकट,मोबाइल प्रयोगमा रोक लगाउँदा वा गेम खेल्न नपाउँदा, घरेलु हिंसा, कम दाइजो ल्याएको कारण कुटपिट , वैवाहिक सम्बन्धमा अविश्वास वा धोका,पति–पत्नीमध्ये एक विदेशमा हुँदा अर्कोको सम्बन्धमा तनाव, यी सबै कारणले मानिसहरूलाई आत्महत्या जस्तो अन्तिम बाटो रोज्न बाध्य पारेको छ ।

विशेषज्ञको चेतावनी

मनोविज्ञानका प्राध्यापक रामनरेश दास भन्छन्–
“आत्महत्याबाट बचाउन तत्कालै २४ घण्टा सञ्चालन हुने हेल्पलाइन सेवा र आकस्मिक मनोवैज्ञानिक परामर्श केन्द्र स्थापना आवश्यक छ । प्रशिक्षित परामर्शदाता समुदायमै उपलब्ध हुनुपर्छ ।”

उनी भन्छन्, आत्महत्या कुनै व्यक्तिगत समस्या मात्र होइन, सामाजिक संकट हो— जसलाई सामूहिक रूपमा रोक्नु जरुरी छ ।

मधेशमा आत्महत्या प्रायः झुन्डिएर वा विषपान गरेर हुने गरेको छ । हरेक आत्महत्या केवल एक जीवनको अन्त्य मात्र होइन, एउटा परिवारलाई चिरस्थायी घाउ दिने घातक घटना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *