सूर्योदय नगरपालिकाद्वारा एक दिनको तलब प्रकोप व्यवस्थापन कोषमा

इलाम। असोज १८ गते राति आएको भीषण बाढीपहिरोपछि इलामको सूर्योदय नगरपालिका उद्धार, राहत र पुनर्निर्माणका कार्यमा उदाहरणीय काम गर्दै अघि बढेको छ। नगरले आपतकालीन स्थितिमा तात्कालिक सहयोग जुटाउन आफ्नै कर्मचारीहरूको एक दिनको तलब “प्रकोप व्यवस्थापन कोष” मा जम्मा गर्ने निर्णय गर्दै मानवीय जिम्मेवारीको प्रेरणादायी उदाहरण देखाएको छ।

नगरका विपत् फोकल पर्सन सिर्जन गदालका अनुसार, नगरका स्थायी र करार गरी २८० जना कर्मचारीले करिब एक हजार रुपियाँका दरले जम्मा गर्दा दुई लाख ८० हजार रुपियाँ संकलन भएको छ। त्यसैगरी, सामुदायिक विद्यालयका शिक्षक, बाल विकास तथा विद्यालय कर्मचारी गरी ५५१ जनाले पनि एक–एक हजार रुपियाँका दरले पाँच लाख ५१ हजार रुपियाँ कोषमा योगदान गरेका छन्।

यसैगरी, नगरभित्रका निजी व्यवसायी र संस्थाहरूले पनि सहकार्यको हात अघि बढाएका छन्। गोलिया व्यवसायीले एक लाख रुपियाँ, छिपिटार टोल विकास संस्थाले १० हजार रुपियाँ, र सूर्योदयका एक उदार व्यक्तिले नाम नखुलाउने सर्तमा ५१ हजार रुपियाँ कोषमा सहयोग गरेका छन्।

अबसम्म नौ लाख रुपियाँभन्दा बढी रकम प्रकोप व्यवस्थापन कोषमा जम्मा भइसकेको नगरका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले जानकारी दिनुभयो। उहाँका अनुसार, “सहयोगको सुरुवात आफैंबाट” भन्ने सोचका साथ यो अभियान सुरु गरिएको हो।

नगरका प्रमुख रणबहादुर राईले भने, “विपत्को बेला जनप्रतिनिधि, कर्मचारी र नगरवासीबीचको सहकार्यले समस्या समाधान सहज हुन्छ। आगामी दिनमा हामी पूर्वतयारी र उपकरण व्यवस्थापनमा अझ ध्यान दिनेछौं,” भन्नुभयो।

असोज १८ गतेको बाढीपहिरोमा सूर्योदयमा ५ जनाको मृत्यु भएको थियो भने भारतको मिरिकमा पनि नगरकै एक महिलाको ज्यान गएको थियो। नगरले मृत्यु भएकाहरूका परिवारलाई दुई–दुई लाख रुपियाँ आर्थिक सहयोग गरिसकेको छ।

त्यस्तै, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका संयोजक दुर्गाकुमार बरालका अनुसार, बाढीपहिरोले खानेपानीका पाइप बगाउँदा डेढ करोड रुपियाँभन्दा बढी क्षति भएको छ। हाल सूर्योदयका युवाहरू र टोल विकास संस्थाहरू स्वतःस्फूर्त रूपमा श्रमदान गर्दै मर्मत कार्यमा जुटेका छन्।

नगरले प्रत्येक दिन साँझ विपत्सम्बन्धी कार्यहरूको प्रगति विवरण विज्ञप्तिमार्फत सार्वजनिक गर्दै आएको छ।
सूर्योदयको यो एकताबद्ध र जिम्मेवार पहलले “स्थानीय शासन र समुदायबीचको सहकार्य कस्तो हुन सक्छ” भन्ने उज्यालो उदाहरण प्रस्तुत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *