सोमबारदेखि यात्रुवाहक सवारीका लागि देशभर रुट परमिट खुला

काठमाडौँ । दशैं यात्रुको चापलाई सहज बनाउन सरकारले सोमबार (असोज ६)देखि यात्रुवाहक सवारीका लागि देशभर रुट परमिट खुला गर्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभागका अनुसार घटस्थापनादेखि पूर्णिमाको पर्सिपल्टसम्म अर्थात् असोज ६ गतेदेखि २२ गतेसम्म यो निर्णय लागू हुनेछ।

तर विशेष परिस्थितिका कारण निषेध गरिएको सार्वजनिक सवारीमा भने यो अवधि पनि बन्देज कायम रहने विभागले स्पष्ट पारेको छ। साथै, बुटवल–नारायणघाट सडकखण्डको दाउन्ने क्षेत्रमा दशैं अवधिभर १२ चक्के वा सोभन्दा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरिएको छ।

यद्यपि खाद्यान्नसहित अत्यावश्यक सामग्री ढुवानी गर्ने मालवाहकलाई भने यो नियम लागू नहुने विभागले जानकारी दिएको छ। सरकारको यो कदमले चाडपर्वमा घर फर्कने यात्रुहरूलाई सहजता दिलाउने र सडकमा हुने भीड व्यवस्थापनमा मद्दत गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *