नवलपरासीमा लम्पी स्किनको प्रकोप : दुई महिनामै १५ गाई–गोरुको मृत्यु, सयौं संक्रमित

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा लम्पी स्किन रोगको सङ्क्रमण तीव्र रुपमा फैलिँदा दुई महिनामै १५ गाई–गोरुको मृत्यु भएको छ । जिल्लाभर तीन सय १९ वटा गाई–गोरु र भैँसीमा रोगको सङ्क्रमण पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, परासीले जानकारी दिएको छ ।

पशु चिकित्सक डा. विभूति सिंहका अनुसार मृतक सबै गाई–गोरु नै रहेका छन् र विशेषगरी कम उमेरका पशुमा रोग छिटो फैलिएको छ । भैँसीको तुलनामा गाई–गोरुमा संक्रमणको दर बढी देखिएको छ । असारदेखि हालसम्म २८ हजार ५ सय पशुमा खोप लगाइएको भए पनि खोप नलगाएका पशुमा मृत्यु दर बढिरहेको चिकित्सक सिंहले बताए ।

बर्दघाट नगरपालिकाबाट सुरु भएको यो रोग हाल जिल्लाका सातै स्थानीय तहमा फैलिसकेको छ । रोगका कारण दूध उत्पादनमा उल्लेख्य गिरावट आउँदा किसान थप संकटमा परेका छन् ।

जिल्लामा करिब ४५ हजार गाई र ३८ हजार भैँसीसहित झन्डै ८३ हजार पशु छन् । लम्पी स्किनको संक्रमणले गाई–भैँसीमा छालामा फोका, उच्च ज्वरो, शरीर सुन्निने र दूध उत्पादनमा गिरावट जस्ता लक्षण देखिने बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *