काठमाडौँ । उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै एमाले मोरङ सचिव रुपेश खतिवडाले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार सिफारिस गर्दा पार्टीको नीति, सिद्धान्त, विधि पद्धति र प्रकृया विपरीत केही निश्चित व्यक्तिको स्वार्थ अनुकूल गरी सामाजिक सञ्जालमार्फत प्रचार गर्ने कार्य भएको भन्दै आफ्नो असहमति रहेको उनले जनाएका छन् ।
खतिवडाले लेखेको राजीनामा पत्रमा भनिएको छ,‘गैर राजनीतिक कार्यको किनाराको साक्षी भएर बस्न नैतिकरुपमा नमिल्ने र आम पार्टी कार्यकर्ता र पार्टी सदस्यहरुको निष्ठा र भावना विपरीत हुने भएकाले नेकपा एमाले जिल्ला कमिटी मोरङको सचिव पदबाट राजीनामा दिएको व्योहोरा अनुरोध छ ।’
जिल्ला अध्यक्षलाई सम्बोधन गरेर उनले प्रदेश कमिटी र केन्द्रीय कमिटीलाई बोधार्थ दिँदै राजीनामा दिएका हुन् । पार्टीले गर्ने निर्णयहरुका सूचनाहरुमा पदीय जिम्मेवारी अनुसार सचिवको संलग्नता अनिवार्य हुनुपर्नेमा त्यस अनुसार नभएको खतिवडाले लेखेको पत्रमा उल्लेख छ ।