रुकुमपश्चिम | करोडौँ खर्चेर बनेको रुकुमपश्चिमको चौरजहारी बसपार्क सञ्चालनमा आउन नसकेपछि संरचना अलपत्र परेको छ। नयाँ सहर निर्माण अन्तर्गत बनेको सो बसपार्क निर्माण सम्पन्न भएर गत पुसमै नगरपालिकालाई हस्तान्तरण गरिएको थियो, तर अहिलेसम्म प्रयोगमा आएको छैन।
सात करोड १६ लाख रुपैयाँ लागतमा बनेको बसपार्कमा सडक कालोपत्रे, सुरक्षित घेराबार, टिकटघर, सार्वजनिक शौचालय र पाँचवटा सटरसहितका कोठा निर्माण गरिएको छ। तर, सञ्चालन र मर्मतसम्भार नहुँदा संरचना लथालिङ्ग बन्दै गएको छ।
बसपार्क प्रयोगमा नआएपछि बजार क्षेत्रमा साना–ठूला गाडीहरू जहाँ–तहीँ पार्किङ गर्न बाध्य छन्, जसले बजारको सौन्दर्य र ट्राफिक व्यवस्थापन दुवैमा अव्यवस्था सिर्जना गरेको छ।
मातृभूमि यातायात प्रालिका अध्यक्ष तिलक बस्नेतका अनुसार, “नगरपालिकाले बसपार्क सञ्चालनमा लापरबाही गरेको छ। हामीलाई सञ्चालनको जिम्मा दिए वार्षिक १० लाख राजस्व तिर्न तयार छौँ, तर नगरपालिकाले वास्ता गरेन।”
नगर प्रमुख पुष्प बादीले भने बसपार्क सञ्चालनका लागि कानुनी कार्यविधि तयारीमा रहेको बताए। “कार्यविधिबिना सञ्चालन गर्दा कानुनी समस्या हुने भएकाले प्रक्रिया तयार गर्दैछौँ, छिट्टै सञ्चालनमा ल्याइनेछ,” उनले भने।
बसपार्क सञ्चालनमा ढिलाइ हुँदा एकातिर राज्यको राजस्व गुमिरहेको छ भने अर्कातिर करोडौँको लगानीले बनेको पूर्वाधार बेवास्ता भएर खिया खाइरहेको छ।
