काठमाडौं । आइतवारदेखि काठमाडौंको फोहोर उठ्ने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आइतवारदेखि फोहोर बोकेका थप गाडी बञ्चरेडाँडा पुग्ने बताउनुभएको छ ।
उहाँका अनुसार शनिबार बेलुकी एक सय ५२ वटा गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुगेको छ । अवरोध नभए आइतवारदेखि तीन सय ५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्ने उहाँले बताउनुभयो ।
फेसबुकमा मेयर बालेनले नियमित अवस्थामा फोहोर उठाउने र बञ्चरेडाँडाँसम्म पुर्याउन केही समय लाग्न सक्ने उल्लेख गर्नुभएको छ । उहाँले फोहोर व्यवस्थापनमा अवरोध नगर्ने स्थानीय, फोहोर संकलक, कर्मचारी र चालकहरूलाई तथा सुरक्षाकर्मीलाई धन्यबाद दिनुभएको छ ।
उहाँले सिसडोलको अवस्था बञ्चरेडाँडामा नदोहोरिने प्रतिवद्दता व्यक्त गर्नुभएको छ ।
थुप्रिएका फोहोरहरुको व्यवस्थापन नभई अन्य विकल्पहरुमा जानु व्यवहारिकरुपमा कठिनाइ भएकाले बाध्य भएर अहिलेको व्यवस्थापनको तरिका अपनाइ रहेको उहाँको भनाइ छ । मेयर शाहले फोहोरको दीर्घकालिन व्यवस्थापनका लागि योजनाहरुलाई कार्यान्वयनका लागि हदैसम्म प्रयास गरिने उल्लेख गर्नुभएको छ ।