घोराही । दाङमा एक वर्ष छ महिनामा सम्पन्न हुने योजना बनाइएका पुल निर्माण व्यवसायीको लापरबाहीका कारण आठ वर्षसम्म अलपत्र परेको छ । तुलसीपुर उपमहानगरपालिका–१३, गिधनियास्थित दुई सोता पुल लामो समयसम्म बन्न नसक्दा स्थानीय वर्षायाममा ठूलो समस्यामा परिरहेका छन् ।
२०७४ साल असारमा नेपालगन्ज एडभेन्चर जेभीसँग ६ करोड ८२ लाख ३७ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेर २०७६ असोजसम्म पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर सम्झौता अनुसार समयमै काम हुन नसकेपछि चार पटकसम्म म्याद थप गरिएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।
पटक–पटक म्याद थप्दा पनि ३० मिटर लम्बाइ र सात मिटर चौडाइ भएको पुलको दुईतर्फका पिलर उठाउनेसम्मको काम मात्र भएको सूचना अधिकारी इन्जिनियर युवराज पाण्डेय बताउँछन् । समयमै काम नगरी पुल अलपत्र पारेपछि सडक डिभिजन कार्यालय दाङले २०८० फागुन ११ गते ठेक्का सम्झौता रद्ध गर्ने निर्णय गरेको थियो ।
तर निर्माण कम्पनीले २०८० चैत ६ गते जिल्ला अदालत दाङमा मुद्दा दर्ता गरेपछि काम अघि बढ्न सकेन । जिल्ला अदालतले २०८० चैत १७ गते मुद्धा खारेज गरे पनि निर्माण कम्पनीले २०८१ जेठ २५ गते उच्च अदालत पाटनमा पुनरावेदन गरेको थियो । उच्च अदालतले पनि २०८१ असार १० गते जिल्ला अदालतको फैसला सदर गरेपछि निर्माण कम्पनी २०८१ साउन ३० गते सर्वोच्च अदालत पुगेको हो ।
सर्वोच्च अदालतले २०८१ साउन ३२ गते कार्यालयसँग ठेक्का रद्धको लिखित कारण माग गरेपछि त्यसअनुसार प्रतिवेदन पेश गरिएको पाण्डेयले बताए । तर जेन–जी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएपछि फैसलामा ढिलाइ हुँदा पुल निर्माण अझै अघि बढ्न सकेको छैन ।