कोशीमा दुई प्रतिशतले वनक्षेत्र वृद्धि

विराटनगर । कोशी प्रदेशमा छ वर्षको अवधिमा वनक्षेत्रले ओगटेको जमिनको क्षेत्रफल करिब दुई प्रतिशतले वृद्धि भएको छ । कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार यस प्रदेशमा आर्थिक वर्ष २०७५/७६ मा वनक्षेत्रले ओगटेको जमिनको क्षेत्रफल ४४.७४ प्रतिशत रहेकामा हाल ४६.२४ प्रतिशत पुगेको छ । वनक्षेत्रबाहेक ४.२४ प्रतिशत क्षेत्र बुट्यानले ढाकेको छ । यसरी प्रदेशमा बुट्यानसहितको वनले ढाकेको कुल क्षेत्र ५०.४८ प्रतिशत रहेको उक्त मन्त्रालयले जनाएको छ ।

पछिल्लो समयमा कोशी प्रदेशका पहाडी जिल्लाको जनसङ्ख्याको ठुलो हिस्सा आफ्नो जमिन छाडेर बसाइँसराइ गरी अन्यत्र गएकाले त्यो ठाउँमा रुख बिरुवा उम्रिएकाले वनक्षेत्र वृद्धि भएको हुन सक्ने कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयकी वन अधिकृत विनीता सुवेदी बताउनुहुन्छ । त्यसबाहेक सरकारी र निजीस्तरबाट बर्सेनि हुने वृक्षरोपणले पनि वनक्षेत्र वृद्धिमा सहयोग पुगेको उहाँको दाबी छ । वन अधिकृत सुवेदीको कुरासँग डिभिजन वन कार्यालय मोरङका जिल्ला वन अधिकृत उत्सव थापा पनि सहमत देखिनुहुन्छ । जिल्ला वन अधिकृत थापा भन्नुहुन्छ, “पछिल्लो अवस्थामा बढ्दो बसाइँसराइले जनसङ्ख्या ऋणात्मक हुँदै गएको र खाली भएको जमिनमा हरियाली बोटबिरुवाले ढाक्दै जाँदा मध्यपहाडी क्षेत्रमा वनले ढाकेको क्षेत्र बढेको हो ।”

अर्कातर्फ वनको संरक्षणमा सामुदायिक वनको सव्रिmयता र सरकारीस्तरबाट बर्सेनि गरिने वृक्षरोपण जस्ता अभियानले पनि वनक्षेत्र बढेको जिल्ला वन अधिकृत थापाको भनाइ छ । उहाँका अनुसार नेपालमा सङ्घीय मन्त्रालय अन्तर्गतको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले नेपालमा समय समयमा वनक्षेत्रको मापन गर्छ । उक्त केन्द्रले सन् २०१४ मा पर्मानेन्ट सेम्पल प्लट (स्थायी नमुना प्लट) विधिबाट नेपालको वनक्षेत्रको मापन गरेको थियो, त्यसपछि सन् २०२२ मा सोही विधिबाट सोही स्थानमा पुनः मापन गर्दा प्रदेशमा वनले ढाकेको क्षेत्रमा वृृद्धि भएको देखिएको हो ।

यस विधिबाट मापन गर्दा एउटै स्थानलाई स्थायी नमुनाका रूपमा लिएर आवधिक रूपमा सोही ठाउँमा वनको मापन गरिन्छ । यसरी मापन गर्दा सन् २०१४ को तुलनामा सन् २०२२ मा मध्यपहाडी जिल्लाका अधिकांश नमुना प्लटमा वनले ढाकेको क्षेत्र वृद्धि भएको देखिएको जिल्ला वन अधिकृत थापाको भनाइ छ । जिल्लागत रूपमा हेर्दा यस प्रदेशका १४ वटा जिल्लामध्ये उदयपुर जिल्लामा सबैभन्दा बढी ६५.२४ र झापमा सबैभन्दा ११.०४ प्रतिशत वनक्षेत्र रहेको छ ।

कोशी प्रदेश वन सम्पदाको हिसाबले सम्पन्न प्रदेशका रूपमा रहेको छ । तराई क्षेत्रको प्रसिद्ध चारकोसे झाडी यसै प्रदेशमा पर्छ । त्यस्तै मध्य तथा उच्च पहाडमा पनि वनक्षेत्र उल्लेखनीय मात्रामा रहेको छ । पछिल्लो वन सर्वेक्षणको आँकडा अनुसार नेपालको कुल क्षेत्रफलको ४०.३६ प्रतिशत क्षेत्र वन र ४.३८ प्रतिशत अन्य काठ तथा बुट्यान क्षेत्र गरी ४४.७४ प्रतिशत भूभाग वनक्षेत्रले ओगटेको छ । नेपालको कुल वन क्षेत्र ६६ लाख १० हजार हेक्टर रहेकामा यस प्रदेशको हिस्सा ११ लाख ३४ हजार २५० हेक्टर (१७.१६ प्रतिशत) रहेको छ ।

संरक्षणका आधारमा नेपाल सरकारले वर्गीकरण गरेका विभिन्न किसिमका वनमध्ये यस प्रदेशमा हाल २०८२ वटा निजी वन दर्ता भएका छन् । जसको क्षेत्रफल २०४२.६१ हेक्टर रहेको छ । त्यस्तै ४७०.८५ हेक्टर वनक्षेत्र ४४ वटा धार्मिक निकाय÷समूह÷समुदायलाई हस्तान्तरण गरिएको छ भने ताप्लेजुङ, तेह्रथुम, झापामा हालसम्म धार्मिक वन दर्ता भएको छैन ।

यस प्रदेशमा गरिबीको रेखामुनि रहेका ९८५ समूहका आठ हजार ७८८ घरधुरीलाई चार हजार ३६५.६६ हेक्टर वनक्षेत्र कबुलियती वनका रूपमा हस्तान्तरण भइसकेको छ । यस प्रदेशमा २०८१ असार मसान्तसम्म तीन हजार ७११ वन उपभोक्ता समूहलाई चार लाख ५१ हजार ९६४.३७ हेक्टर राष्ट्रिय वनक्षेत्र सामुदायिक वनका रूपमा हस्तान्तरण गरिएको छ । गोरखापत्र अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *