काठमाडौं । लगातारको वर्षा र पहिरोका कारण देशभरका ११ राजमार्ग पूर्ण अवरुद्ध भएका छन् भने ८ सडक खण्डमा एकतर्फी मात्र सवारीसाधन गुडिरहेका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार संखुवासभाको कोसी राजमार्ग, रसुवाको नेपाल–चीन जोड्ने पुल र पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, रोल्पाको घोराही–रुकुम सहिद मार्ग, रुकुम पश्चिमको जाजरकोट–डोल्पा–भेरी सडक, कालीकोटको कर्णाली राजमार्ग, जाजरकोटको मोर्क–चंखिला सडक, रुकुम पश्चिमको मध्यपहाडी राजमार्ग र जाजरकोट–डोल्पा सडक गरी ११ स्थानमा आवागमन पूर्णरूपमा अवरुद्ध भएको हो ।
त्यसैगरी काठमाडौंको धार्चे सडक, तेह्रथुमको मध्यपहाडी लोकमार्ग, रसुवाको गल्छि–त्रिवेणी–मैलुङ–स्याफ्रु सडक, बागलुङ र नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, तनहुँको पृथ्वी राजमार्ग, दाङको राप्ती राजमार्ग र अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडकमा एकतर्फी मात्र गाडी चलिरहेको प्रहरीले जनाएको छ ।
राजमार्ग बन्द हुँदा सयौं सवारी बीच बाटोमै रोकिएका छन् भने यात्रुहरू भारी समस्यामा परेका छन् । अवरुद्ध सडकखण्डमा पहिरो पन्छाउने र आवागमन सहज बनाउन प्रयास भइरहेको प्रहरीको भनाइ छ ।