नारायणगढ–बुटवल सडकखण्डको काम चाँडो सम्पन्न गर्न निर्देशन

काठमाडाैं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको काम चाँडो सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

आज सडकको स्थलगत अनुगमन गर्दै उहाँले काम चाँडो र गुणस्तरीय गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको हो । उहाँले नारायणगढबाट बुटवलसम्मको एक सय १४ किलोमिटर लामो सडकको विभिन्न १३ स्थानमा अनुगमन गर्नुभएको थियो । “सडक अनुगमनका क्रममा काम सन्तोषजनक देखियो । यतिमै खुसी हुने अवस्था भने छैन”, उहाँले भन्नुभयो, “एकपटक म्याद थप भइसकेको आयोजनाको काम गुनासो नआउने गरी चाँडो सम्पन्न गर्नुहोला ।”

अहिलेको काममा प्रगति भएको देखेर खुसी लागेको मन्त्री श्रेष्ठले बताउनुभयो । “काममा प्रगति भएको छ, तर जम्मा कति प्रगति भएको छ र त्यसले गुणस्तरीयता कस्तो ल्याएको छ भनेर हामीले विश्लेषण गर्छौँ”, उहाँले भन्नुभयो, “तर पनि पहिले आएको बेलाभन्दा प्रगति भएको छ ।” श्रेष्ठले आज गैँडाकोटबाट बुटवलसम्म सडकको विभिन्न १३ स्थानमा अनुगमन गर्नुभएको थियो ।

सडकको काम सकारात्मक दिशामा अगाडि बढेको गृहमन्त्री श्रेष्ठले बताउनुभयो । आफू भौतिक पूर्वाधारमन्त्री हुँदा सो सडकको निरीक्षण गरेको उल्लेख गर्दै उहाँले त्यस बेलामा सडकलाई कसरी चाँडो सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा निर्देशन दिएको बताउनुभयो । त्यसपछि अहिले तीव्र गतिमा काम हुन थालेको आफ्नो निरीक्षण र निर्देशनको परिणाम भएको उहाँले बताउनुभयो । “त्यही पनि यसलाई छिटो र गुणस्तरीय काम होस् भनेर हामीले चीनका राजदूतसँग कुराकानी गरेका थियौँ” उहाँले भन्नुभयो, “त्यसकारण अहिले चिनियाँ राजदूतले आग्रह गरेर उहाँहरूको टोलीसँग सडकको निरीक्षणका लागि यहाँ आएका हौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *