नेपाल शिक्षक महासङ्घले भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने

काठमाडौं । नेपाल शिक्षक महासङ्घले भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकमा सरकारले विद्यालय शिक्षा ऐन जारी गर्न दिएको समयसीमा सकिएपछि आन्दोलनको घोषणा गरिएको महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।

महासङ्घले ऐन जारी नभएको भन्दै आन्दोलनको खाका तयार गर्न परिचालन समिति गठन गरेको छ, जसलाई राष्ट्रिय समितिले अनुमोदन गर्नेछ । भदौ ३ र ४ गते राष्ट्रिय समितिको बैठक बोलाइएको छ ।

सुवेदीले शिक्षा समितिमा विधेयकको प्रगतिबारे जानकारी नभएको र विधेयक दर्तापछि मात्र यसले सम्बोधन गरेका विषयको आकलन हुने बताए ।

यसैबीच, प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षक–प्रधानाध्यापक नियुक्त भएमा महासङ्घको सदस्यता स्वतः निष्क्रिय हुने र शिक्षकको बढुवा आन्तरिक प्रतियोगिता, ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा गर्ने प्रस्ताव पारित गरेको छ ।

कार्यसम्पादन मूल्याङ्कन अङ्क ८० मा झारिएको छ । महासङ्घले गत चैतमा २९ दिन लामो शैक्षिक आन्दोलन गरेको थियो । ऐन जारी नभए फेरि आन्दोलन गर्ने चेतावनी दिँदै आएको महासङ्घले समग्र शिक्षक र विद्यालय शिक्षाका समस्या समाधान नहुने अवस्थामा कडा कदम चाल्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *