प्राचीन तिलौराकोट विश्वसम्पदामा सूचीकृत हुन सकेन

नारद कोहार

कपिलवस्तु । प्राचीन शाक्य गणराज्य राज्यको राजधानी सहर तिलौराकोट (प्राचीन कपिलवस्तु) विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने नेपालको प्रयास सफल हुन सकेन । फ्रान्सको राजधानी पेरिसमा जारी ४७ औँ बैठकमा गौतम बुद्धले २९ वर्ष युवा अवस्था बिताएको गृहनगर प्राचीन कपिलवस्तुको तिलौराकोटलाई विश्वसम्पदा सूचीमा राख्ने नेपालको प्रयास सफल हुन नसकेको हो ।

युनेस्कोका मुख्य प्राविधिक सल्लाहकार इकोमसले गरेको मूल्याङ्कनमा पहिले नै डिफर (स्थगन) सूचीमा राख्ने प्रस्ताव गरी प्रतिवेदन बनाएका थिए । सोही प्रतिवेदनमा २१ सदस्यीय राष्ट्रमध्ये कसैले पनि संशोधन नहालेपछि तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रयास असफल भएको हो ।

लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले भन्नुभयो, “कुनै पनि सदस्य राष्ट्रले हाम्रो पक्षमा संशोधन प्रस्ताव हालेनन् । सदस्य राष्ट्रले इकोमसको प्रतिवेदनलाई पूर्ण समर्थन जनाउँदा तिलौराकोटको प्रस्ताव अघि बढ्न सकेन ।”

यसअघि ४७ औँ युनेस्को बैठकमै तिलौराकोट विश्वसम्पदा सूचीमा सूचीकृत हुने अपेक्षा गरिएको थियो । लामो समयको अध्ययनपश्चात् प्रमाण सङ्कलन गरेर विश्वसम्पदा सूचीमा सूचीकृत हुने अपेक्षा पूरा हुन नसकेपछि नेपालमा चिन्ता व्यक्त गरिएको छ । कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले पनि सूचीकृत हुनेमा आशावादी भएकोमा त्यसो नहुँदा निकै दुःख लागेको बताउनुभयो ।

स्थानीय सरकारका हिसाबले विश्वसम्पदा सूचीमा सूचीकृत गराउन सम्पदा संरक्षण गर्ने प्रतिबद्धता जनाए पनि कूटनीतिक पहल कमजोर भएको उहाँको भनाइ छ ।

नेपालका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. ल्हारक्याल लामा, मन्त्रालयका सहसचिव सुरेश श्रेष्ठ, लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईसहितको टोलीले फ्रान्समा पहलसमेत गरेको थियो ।

तिलौराकोटलाई विश्वसम्पदा स्थल बनाउनका लागि करिब एक हजार पृष्ठ लामो अन्तिम मनोनयन दस्ताबेज सन् २०२४ जनवरी ३१ मा नेपालका तर्फबाट युनेस्कोका स्थायी प्रतिनिधि तथा फ्रान्सका लागि नेपाली राजदूत डा. सुधीर भट्टराईले पेरिसस्थित युनेस्कोको विश्वसम्पदा केन्द्रमा बुझाउनुभएको थियो ।

युनेस्कोको प्राविधिक सल्लाहकार इकोमस नै तिलौराकोटबारे सकारात्मक प्रतिवेदन तयार नपारेपछि नेपालको वर्षौंदेखिको प्रयास असफल भएको हो । युनेस्को जापानिज फन्ड इन ट्रस्ट परियोजना अन्तर्गत दुर्हाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङ्घमको नेतृत्वमा सन् २०१४ देखि गरेको वैज्ञानिक पुरातात्त्विक उत्खननबाट तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पर्याप्त आधार र प्रमाण जुटाएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्व विभागले विभिन्न चरणमा अन्तर्राष्ट्रिय सम्पदा विशेषज्ञसँग तिलौराकोट क्षेत्रमा धेरै पटक छलफल गरेको थियो ।

अन्तर्राष्ट्रिय सम्पदाविज्ञ डा. डङ्कन मार्सल (अस्ट्रेलिया), प्राडा रविन कनिङ्हम (बेलायत) सहित नेपालका तर्फबाट विज्ञहरू काई वाइजे, प्रोफेसर योकियो निसिमुरा, प्रो. म्याक्स डिग, डा. मार्क म्यानुअलसहित नेपालका विज्ञहरूले तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृतको अन्तिम मनोनयन दस्ताबेज तयार पार्ने काम गरेका थिए । युनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्त्विक स्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *