देवरामप्रसाद यादव
सप्तरी । सप्तरीमा सञ्चारकर्मी, वन कर्मचारी तथा पदाधिकारीहरुले आइतबार वन क्षेत्रको संयुक्त अनुगमन गरेका छन् । डिभिजन वन कार्यालय सप्तरी राजविराजद्वारा आव २०८१-०८२ मा सञ्चालित विभिन्न योजना तथा कार्यक्रमको सञ्चारकर्मी, वन कर्मचारी तथा पदाधिकारीहरुले संयुक्त रुपमा अनुगमन गरेका हुन् ।
डिभिजन वन कार्यालय सप्तरी राजविराजद्वारा आयोजित वन क्षेत्र अनुगमन तथा निरीक्षण कार्यक्रम अन्तर्गत सप्तकोसी नगरपालिका, कञ्चनरुप नगरपालिकालगायतका जिल्लाका विभिन्न वन क्षेत्रको अवस्थाको बारेमा जानकारी लिएको थियो । सप्तरीमा कुल क्षेत्रफल १२८१०० हेक्टरमा वन क्षेत्रफल २११३६ हेक्टरमध्ये कोशीटप्पु वनजन्तु आरक्ष ७०१४.५० डिभिजन वन कार्यालयको कार्यक्षेत्र १४१२१.५ ,सामुदायिक वनको सङ्ख्या १ सय ३७ छ।
यस जिल्लामा जल क्षेत्र ३१४३.९२,वन क्षेत्र २११३६,घाँसे मैदान १४९३.३६,सिमसार ३९८१.८७,कृषि क्षेत्र ६७६७५.६१,बटटेन क्षेत्र १२६३५.८६,बस्ती क्षेत्र १२७६६.१,बाँझाे क्षेत्र ५२६७.३८ रहेका छन् । स्थानीय तह अनुसार सप्तकोशी नगरपालिका २८७५.८१,कञ्चनरुप नपा.४८९०.७३,तिरहुत गापा.१३८.९४,अग्निसाइरकृष्णसवरण ३२४४.४५,रुपनी गापा.११०३.६८,शम्भुनाथ नपा.४३९७.६९,खडक नपा.२५०५.०६,सुरुङ्गा नपा.१२८५.६३,अन्य १० बटा स्थानिय तहमा भएका वन क्षेत्र –आप बगैचा,निजी वन क्षेत्र) ७७४.०९ रहेका छन् । व्यवस्थापन पद्धति अनुसार वनको किसिम सामुदायिक वन १३७ वटा,सरकारद्वारा व्यवस्थित वन ३१३६.६२ हेक्टर,निजी वन ८८ वटा (४०.५०हे.)रहेका छन् ।
जिल्लामा पाइने मुख्य काष्ठ जन्य प्रजातिहरु साल,अस्ना, सिसौ, खयर, सिमल, हर्राे, बर्राे,जामुन रहेका छन् । यस्तै जिल्लामा पाइने लघु वन पैदावार च्याउ,निउरो,वेत,बाेजो,भ्याकुर,दतिवन,अम्रिसो,राजवृक्ष,सिन्दुरे,थाकल,कुटमिरा,सिमसाग,लुँडे,बयर,अमला,कुरिलो,बाँस छन् ।
जिल्लामा एक वर्षे बिरुवा उत्पादन दौलतपुर वन नर्सरी ५० हजार,कल्याणपुर वन नर्सरी ५० हजार,अमहा वन नर्सरी १ लाख,रुपनी वन नर्सरी १ लाख,कञ्चनपुर वन नर्सरी १ लाख,फक्तेपुर वन नर्सरी ५० हजार,राजगढ गापा ५० हजार,तिलाठी कोइलाडी गापा ५० हजार,सीतापुर वन नर्सरि ५० हजार समेत गरी ६ लाख हुने गरेको छ । त्यस्तै बहुवर्षीय बिरुवा उत्पादन २ वर्षे दौलतपुर वन नर्सरी १ लाख,रुपनी वन नर्सरी ५०हजार,कञ्चनपुर वन नर्सरी ५० हजार,अमहा वन नर्सरी ३६ हजार ३६३ हुने गरेको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ ।
सप्तकोसी नगरपालिका १ स्थित रक्तमाला नमुना सामुदायिक वन उपभोक्ता समिति र जिल्ला वन कार्यालयको संयुक्त साझेदारी जैविक तथा सहिद पार्क निर्माण स्थल र पर्यावरण स्थलमा गरिएका वन संरक्षण पर्यावरण सुरक्षा बारेमा स्थानीयवासी र सामुदायिक वनका पदाधिकारीसँग जानकारी लिएको थियो ।
यस ठाउँमा ३४७.५ हेक्टर क्षेत्रफलमा पार्क निर्माण, ट्रीहाउस निर्माण, पोखरी निर्माण, गोल घर निर्माण, बाटो निर्माण तथा वृक्षरोपणका कार्य गरिएको रक्तमालाका अध्यक्ष इन्द्रप्रसाद लुइँटेलले जानकारी दिनुभयो । जिल्ला वन र सामुदायिक वनको सहकार्यमा जडीबुटी तथा फलफूलका वृक्षरोपण, विभिन्न प्रजातिका बिरुवा उत्पादन र वितरण, कम्पोस्ट मल उत्पादन हुने अध्यक्ष लुइँटेलले बताउनुभयो ।
उहाँले रुखको झारेको सुकेको पात र वनमा पोथ्रा रुखको हरियो पात कुहाएर प्राङ्गारिक मल उत्पादन गरि किसानलाई निशुल्क वितरण गर्ने बताउनुभयो। वनमा खेर जाने पातपतिङ्गर जम्मा गरी मल उत्पादन गर्ने, विभिन्न जडीबुटीको बोट रोप्ने तथा पार्कमा आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि अनुसन्धान केन्द्रको रुपमा विकास गरी वन संरक्षण, स्वच्छ वातावरण र आयआर्जनसँग जोड्ने उद्येश्यले काम भइरहेको उहाँले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
उहाँले मुनाको लागि यस पटकमा १० हजार किलो सुकेको र १० हजार किलो हरियो पात मिलाएर २० हजार किलो प्राङ्गारिक मल उत्पादन गर्ने योजना रहेको बताउनुभयो । जैविक तथा हरित पार्कबाट वार्षिक २२ लाख आम्दानी लिने लक्ष्य रहेको अध्यक्ष लुइँटेलले बताउनुभयो ।
जिल्ला वन कार्यालयले मातहतका सब डिभिजन कार्यालयहरुमा नर्सरी लगाएर लाखौं बिरुवा उत्पादन गर्ने तथा समुदाय स्तरमा वितरण गर्ने गरेको डिभिजन वन कार्यालय सप्तरीका डिभिजन वन अधिकृत सुभाषचन्द्र दासले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । उहाँका अनुसार खैर, अमला,लताम,सिसौ,अर्जुन, टिक मसला,मलेसियन सखुवा, तेज पत्ता, आँप, लिची, मोरिङ्गालगायतका विभिन्न प्रजातिका बिरुवा उत्पादन भइरहेको बताउनुभयो ।
सप्तरीमा कुल २१ हजार १ सय ३६ हेक्टर वनक्षेत्रमा १ सय ३७ सामुदायिक वन र ६ वटा सब डिभिजन वन कार्यालयले वन संरक्षणको कार्य गरिरहेको डिभिजन वन अधिकृत दासले जानकारी दिनुभयो।