सल्यानको छत्रेश्वरी गाउँपालिकाद्वारा हाते ट्याक्टर वितरण: किसान उत्साहित

शंकर केसी

सल्यान । “गोरुले जोत्न घण्टौं लाग्थ्यो, अब भने केही घण्टामै काम सकिने भयो” सल्यानको छत्रेश्वरी गाउँपालिका–७ रावत गाउँका किसान रामबहादुर रानाले उत्साहित हुँदै भन्नुभयो, “गाउँपालिकाबाट अनुदानमा खेतबारी जोत्ने मेसिन (मिनी ट्रिलर) पाएपछि खेतीपातीको काम सजिलो भएको छ ।”

यस्तै, साङ्घारमुलस्थित तरकारी उत्पादन कृषक समूहका सचिव कृपाराम वली पनि राहत महसुस गरिरहनुभएको छ । “काँक्रा, सिमी, बोडी, खुर्सानी, तिते करेला लगायतका तरकारी खेती गर्ने हामीजस्ता व्यावसायिक किसानलाई हाते ट्याक्टरले जमिन जोत्दा समय र श्रम दुबै जोगिने छ” उहाँले भन्नुभयो ।

छत्रेश्वरी गाउँपालिकाका ३९ जना कृषक समूह, सहकारी तथा व्यावसायिक कृषकले ५० प्रतिशत अनुदानमा मिनि ट्रिलर पाएका हुन् । अझै पनि परम्परागत उपकरणको प्रयोग गर्दैआएका किसानले अब आधुनिक कृषि प्रविधिको प्रयोगमार्फत उत्पादनमा वृद्धि गर्नुपर्छ भन्ने सोच बनाएका छन् ।

यसअघिका दुई वर्षमा ३८ वटा मिनि ट्रिलर ५० प्रतिशत अनुदानमा वितरण गरेको छत्रेश्वरी गाउँपालिकाले यस वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिएको हो । छत्रेश्वरी गाउँपालिका तथा वडातर्फको कार्यक्रमअनुसार वितरण गरिएको मिनि ट्रिलरले किसानलाई खेतीपातीमा ठुलो सहजता मिल्ने गाउँपालिकाको विश्वास छ ।

गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीका अनुसार सल्यानजस्तो भौगोलिक बनावट भएको क्षेत्रमा ठुला ट्याक्टर प्रयोग गर्न असहज भएकाले हाते ट्याक्टर नै उपयुक्त विकल्प देखिएको छ । उहाँले भन्नुभयो, “मेसिन वितरणपछिको प्रयोग अवस्थाबारे गाउँपालिकाले निरन्तर अनुगमन गर्छ । समूहका सबैले उपयोग गर्न आग्रह गरेका छौँ ।”

गाउँपालिका उपाध्यक्ष बुद्धकुमारी खत्रीले विगतदेखि नै कृषि यान्त्रीकरणमा जोड दिइँदैआएको भन्दै मागअनुसार आगामी वर्ष थप किसानलाई पनि वितरण गरिने बताउनुभयो ।

कृषक छनोटको प्रक्रिया समेत पारदर्शी रहेको कृषि विकास शाखाले जनाएको छ । प्राविधिक सहायक दीपक पुनका अनुसार दरखास्त आह्वानपछि मेहनती, आयआर्जनमुखी खेती गर्ने समूह तथा किसानको स्थलगत अनुगमन गरेर छनोट गरिएको थियो ।

“कृषि विकास कार्यक्रम सञ्चालन कार्यविधि बमोजिम तोकिएको मापदण्डअनुसार मुल्याङ्कन गरेर कृषियन्त्र वितरण गरिएको हो” उहाँले भन्नुभयो । एक थान मिनि ट्रिलरको मूल्य ४९ हजार ९११ रुपैयाँ रहेकोमा ५० प्रतिशत लागत गाउँपालिकाले बेहोरेको छ ।

मेसिन वितरणसँगै किसानलाई यसको सही प्रयोग, मर्मत, इन्धनको खपत तथा सुरक्षाका उपायसम्बन्धी जानकारी दिइएको थियो । श्रमशक्ति घट्दो अवस्थामा रहेका पहाडी गाउँहरूमा यस्तो कार्यक्रमले कृषकको जीवनस्तरमा सुधार ल्याउनुका साथै बाँझो जमिन उपयोग गर्दै उत्पादन वृद्धिमा टेवा पुर्‍याउने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *