सिरहा । सिरहा र धनुषा जिल्ला जोड्ने कमला नदीको पक्की पुल १४ वर्षदेखि अधुरो छ। विसं २०६८ मा तीन वर्षमै सम्पन्न गर्ने लक्ष्यसहित शुरू गरिएको ४६९ मिटर लामो पुल अझै सम्पन्न हुन सकेको छैन, जसका कारण स्थानीयवासी वर्षौंयता सास्ती भोग्दै आएका छन्।
पुल नहुँदा स्थानीयले बाँस वा काठको अस्थायी संरचना प्रयोग गरेर जोखिमपूर्ण यात्रा गर्दै आएका थिए। तर, साउनको तेस्रो हप्तामा आएको बाढीले बाँसको पुल बगाएपछि यातायात पूर्ण रूपमा ठप्प भएको थियो। हाल काठको संरचना पुनः बनाएर आवतजावत केही सहज बनाइए पनि जोखिम भने यथावत् छ।
सिरहा–६ का प्रवीण यादवका अनुसार, अस्थायी काठे संरचना निकै जोखिमपूर्ण भए पनि स्थानीयहरू बाध्यतावश त्यसैबाट हिँड्नुपर्छ। “मोटरसाइकलसहित यात्रा गर्दा झन् डर लाग्छ, तर विकल्प छैन,” यादवले भने। उनका अनुसार, नगरपालिकाले निःशुल्क सञ्चालनको दाबी गरे पनि यात्रुहरूलाई ५० रुपैयाँसम्म तिर्न बाध्य पारिएको छ।
पहिले ठेक्का सम्झौताअनुसार २० रुपैयाँ लिइन्थ्यो, तर अहिले व्यवहारमा शुल्क झनै बढेको यादवको भनाइ छ। “जनतामाथि दोहोरो भार परेको छ—एकातिर जोखिमपूर्ण यात्रा, अर्कातिर अनियमित शुल्क असुली,” उनले भने।
पुल निर्माणको जिम्मा सुरुवातमा पप्पु–लुम्बिनी जेभीलाई दिइएको थियो। पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेपछि बाँकी काम लुम्बिनी बिल्डर्सले गर्दै आएको थियो। तर, बाढीले दुई पाया भासिएपछि आवश्यक मर्मतका लागि ८ करोडको बीमा रकम नपाएको कारण देखाउँदै कम्पनीले पछिल्ला एक महिनादेखि काम रोकिदिएको हो।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका सूचना अधिकारी इञ्जी. रञ्जितकुमार रायका अनुसार, तोकिएको म्यादमै काम रोकेको भन्दै लुम्बिनी बिल्डर्सलाई पनि कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइएको छ।
सिरहा–६ का वडाध्यक्ष इन्द्रजित यादवका अनुसार, पुल नहुँदा बाढीपछि पैदलयात्रुहरूलाई बाँसको भ¥याङ चढेर वा डुङ्गाबाट नदी पार गर्नुपर्ने अवस्था रहन्छ। अधुरो कमला पुलले हरेक वर्षको वर्षायाममा स्थानीयको जीवन कठिन बनाइरहेको उनले बताए।