काठमाडौं । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले समाचार लेखेकै आधारमा प्रेससँग असम्बन्धित कानुन आकर्षित गरेर पत्रकारमाथि फौजदारी कारबाही तथा डर–त्रास देखाउनु लोकतन्त्रविरोधी कार्य भएको बताएका छन् । उनले अभिव्यक्ति स्वतन्त्रतामा आँच आउनेगरी राज्य होस् या जुनसुकै निकायले गरेका कामकारबाही र निर्णयहरु स्वीकार्न नसकिने पनि बताए ।
समाचार लेखेकै विषयलाई लिएर दृष्टि न्यूजडटकमलाई विशेष अदालतले तीन दिनभित्र जवाफ दिन र समाचार यथास्थितिमा राख्न दिएको आदेशप्रति आफ्नो धारणा सुनाउँदै अध्यक्ष लम्सालले भने, ‘प्रेस एवं अभिव्यक्ति स्वतन्त्रताविरोधी कार्यमात्र नभई नेपालको २०७२ को संविधानविरोधी कार्य हो, यो कदापि स्वीकार्न सकिन्न ।’
पछिल्ला केही समययता राज्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्न उद्यत देखिएको पनि उनले बताए । अध्यक्ष लम्सालले भने, ‘लोकतन्त्रमा अदालतलाई सम्मान गर्नुपर्छ । न्यायिक निकायहरुलाई सम्मान गर्नुपर्छ र ती निकायहरुले गरेको निर्णय र फैसलाहरुको पक्षमा उभिनुपर्छ । तर, पछिल्लो समय नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि विभिन्न कोणबाट आक्रमण भइरहेको छ । यो निन्दनीय कार्य हो ।’
उनले समाचार लेखेकै आधारमा पत्रकारसँग असम्बन्धित कानुन आकर्षित गरेर कारबाही गर्ने, फौजदारी मुद्दा लगाउने राज्य होस् वा अरु जुनसुकै निकाय हुन्, त्यस्ता निर्णय प्रेस युनियनले खण्डन गर्ने बताए । संविधानमै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकका रुपमा व्यवस्था गरिएको स्मरण गर्दै उनले प्रेसमाथि नियन्त्रण तथा डर–त्रास सिर्जना गर्नु भनेको लोकतन्त्रकै लागि खतरा रहेको बताए ।
उनले स्वतन्त्र पत्रकारिता तथा सोसल मिडियामा लेखिएका विषयहरु अनुगमन एवं नियन्त्रण गर्ने प्रेस काउन्सिल नेपाल भएको बताए । उनले भने, ‘पत्रकारको मुद्दा प्रेस काउन्सिलले हेर्ने हो । तर, पछिल्लो समयमा जसरी प्रेस काउन्सिलाई समेत थाहा नदिई अदालतमा फौजदारी मुद्दा दर्ता गर्ने र कारबाही गर्ने कार्य हुँदै आएको छ । यो अत्यन्त लोकतन्त्रविरोधी र प्रेस स्वतन्त्रताको विरुद्धमा हो । यो पत्रकारहरुलाई नियन्त्रण र नियन्त्रित समाचार लेखाउनका निम्ति डर, त्रास देखाउने काम भइरहेको छ । राज्यको यस कार्यप्रति पे्रस युनियन खण्डन गर्दछ र घोर भत्र्सना गर्दछ ।’
पछिल्लो समय दृष्टि मिडियामाथि भएको अदालतको निर्णय दृष्टिका लागिमात्र नभएर आमसञ्चार क्षेत्रमाथि नै राज्यको आक्रमण हो । लम्सालले भने, ‘प्रेस स्वतन्त्रतामाथि आँच आउनेगरी जुनसुकै निकाय होस्, ती निकायबाट भएका कामकारबाहीलाई प्रेस युनियनले स्वीकार्दैन ।’ पछिल्लो समय राज्य सञ्चार क्षेत्र नियन्त्रण गर्ने र आफू अनुकूलका भजनमण्डलीलाई मात्र रुचाउने प्रयासमा लागेको बताउँदै उनले भने, ‘राज्य र कुनै पनि निकायबाट हुने प्रेस स्वतन्त्रताविरोधी कार्यलाई स्वीकार्न सकिन्न ।’