चन्द्र पन्दाक
ताप्लेजुङ । ताप्लेजुङमा पहिलोपटक एपेन्डिसाइटिससहित केही जटिल रोगको शल्यक्रिया सेवा सुरु भएको छ । विशेषज्ञ चिकित्सकको उपलब्धतासँगै आवश्यक उपकरणको व्यवस्था भएपछि जिल्ला अस्पताल ताप्लेजुङबाट शल्यक्रिया सेवा सुरु गरिएको हो ।
जिल्लाका अस्पतालका प्रमुख मेडिकल सुपरिटेनडेन्ट डा. प्रनाम जयरु आउनुभएपछि जिल्लामै उक्त शल्यक्रिया सेवा सुरु भएको हो । जेनेरल तथा ल्याप्रोस्कोपिक सर्जनमा विशेषज्ञता हासिल गर्नुभएका डा. जयरु गत माघमा ताप्लेजुङ आउनुभएको र माघ महिनाको अन्तिमदेखि नै जिल्ला अस्पतालमा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल लगायतको शल्यक्रिया सेवा सुरु गरिएको हो ।
गत माघ महिनायता हालसम्म १३६ जना बिरामीको सफल शल्यक्रिया गरिएको जिल्ला अस्पतालले जनाएको छ । उक्त सङ्ख्यामध्ये आठ जनाको एपेन्डिक्सको शल्यक्रिया गरिएको मेसु डा. जयरुले जानकारी दिनुभयो । उहाँका अनुसार गएको मङ्गलबार मात्रै छ वर्षका एक बच्चाको हर्नियाको सफल शल्यक्रिया गरिएको छ ।
हाल जिल्ला अस्पतालबाट प्रवाह हुँदै आएको शल्यक्रिया सेवामा डा. जयरुको नेतृत्वमा एमडिजिपी डा. ताई अन्जुक लामा लगायतको टोली संलग्न रहँदै आउनुभएको छ ।
जिल्ला अस्पतालमा एपेन्डिक्स, हर्निया, हाइड्रोसिलसहित पाइल्स, फिस्टुला, बच्चाको हर्निया, बच्चाको लिङ्गसम्बन्धी सर्कम सिजन र हातको सबैखाले शल्यक्रिया गरिँदै आएको छ । सेवा सुरु भएको करिव पाँच महिनाको अवधिमा शल्यक्रिया गरिएको सङ्ख्यामध्ये सबैभन्दा बढी हात र बच्चाको हर्निया तथा हाइड्रोसिलसम्बन्धी शल्यक्रिया सेवा प्रवाह गरिएको अस्पतालले जनाएको छ ।
यता एपेन्डिक्सहित विभिन्न रोगको शल्यक्रिया जिल्लाबाटै हुन थालेपछि ताप्लेजुङवासीलाई राहत पुगेको छ । मोटो रकम खर्च गरेर शल्यक्रिया सेवा प्राप्त गर्नलाई अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएपछि जिल्लावासी हर्षितसमेत भएका छन् । एपेन्डिक्सजस्तो जटिल रोगको जिल्ला अस्पतालबाटै सफल शल्यक्रिया हुन थालेको खबर सुन्न पाउँदा खुसी लागेको फुङ्लिङ नगरपालिका–५ का बिक्रम लिम्बूले बताउनुभयो ।
लिम्बूजस्तै एपेन्डिक्ससहित विभिन्न जटिल रोगको शल्यक्रिया जिल्लामै सुरु भएको खबर सुनेका सबैले खुसी व्यक्त गरेका छन् भने शल्यक्रिया सेवाको सकारात्मक प्रशंसा गर्ने गरेका छन् । जिल्लाबाट सङ्घ, प्रदेशमा प्रतिनिधित्व गर्ने सांसद, मन्त्री, स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलका नेतृत्व समेतले डा. जयरुजस्तै ताप्लेजुङका लागि विभिन्न विशेषज्ञ चिकित्सकको व्यवस्थाका लागि पहल गर्नुपर्नेमा पनि जिल्लावासीको जोड रहेको छ ।
यता मेसु डा. जयरुले आफू ताप्लेजुङ आएपछि केही अत्यावश्यक उपकरणको व्यवस्था मिलाएर शल्यक्रिया सेवा सुरु गरिएको बताउनुभयो । चालु नयाँ आर्थिक वर्षका लागि प्रदेश सरकारबाट बजेटको व्यवस्था भएकाले उपकरणसहित आवश्यक व्यवस्थपन मिलाएर शल्यक्रिया सेवालाई थप सुधार र व्यवस्थित गर्ने योजना रहेको उहाँले बताउनुभयो । जिल्ला अस्पतालमा शल्यक्रियासहित प्रभावकारी स्वास्थ्य सेवा प्रवाहका लागि सबै पक्षको सहयोग आवश्यक पर्ने पनि उहाँको भनाइ छ ।