काठमाडौं । वैदेशिक रोजगार बोर्डले गत आर्थिक वर्ष २०८१/०८२ को प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । बोर्डमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले बोर्डले गरेका कामहरूबारे जानकारी दिएका हुन् । बोर्डले गत आर्थिक वर्षमा एक हजार १८० नेपालीको शव मृतकको घरसम्म ढुवानी गरेको हो ।
त्यस्तै एक हजार २५० जना मृतक कामदारका परिवारलाई आर्थिक सहायता प्रदान गरेको छ । त्यो बीचमा ६९८ जना अंगभङ्गरविरामी कामदारलाई आर्थिक सहायता प्रदान गरेको छ भने २७५ जना कामदारका परिवारलाई स्वास्थ्य उपचारमा सहयोग गरेको छ ।
बोर्डले तीन हजार ९९० जनालाई वैदेशिक रोजगार सन्तति छात्रवृत्ति सहायता प्रदान गरेको छ । भने यो एक वर्षको अवधिमा ७० वटा अलपत्र परेको शव झिकाउने काम गरेको छ । त्यस्तै एक जना अलपत्र कामदारको उद्धार गरेको छ ।
बोर्डले एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा जान चाहने १४ हजार ४५८ युवालाई सीपमूलक तालिम दिइएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ का लागि बोर्डले केही नयाँ कार्यक्रमहरू पनि अघि सारेको छ ।
सङ्घीय र प्रदेश सांसदहरूका लागि वैदेशिक रोजगारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने भएको छ । त्यस्तै वैदेशिक रोजगारीबाट फर्केर सफल उद्यमी बनेकाहरूलाई सम्मान गर्न ‘रिटर्नी उद्यमी आइडल’ कार्यक्रम समेत सञ्चालन गरिने उप्रेतीले जनाकारी दिए ।
त्यस्तै वैदेशिक रोजगारका विषयमा कलम चलाउने पत्रकारहरूलाई पुरस्कृत गर्ने योजना समेत बोर्डले अघि सारेको छ ।
बोर्डले चालु आर्थिक वर्षमा पुराना शववाहनको सट्टा दुईवटा नयाँ विद्युतीय शववाहन (एम्बुलेन्स) खरिद गर्ने योजना अघि सारेको छ । त्यस्तै, विदेशमा जेल परेका अधिकांश व्यक्तिहरू लागूऔषध वा मदिरा सेवनजस्ता गतिविधिमा संलग्न भएको र उनीहरू आफैँ कानुनी प्रक्रियामा जान नचाहने भएकाले बजेट भएर पनि खर्च हुन नसकेको बोर्डले जनाएको छ । केही देशको कानुनी कडाइका कारण शव ल्याउन समस्या हुने गरेको बोर्डले जनाएको छ ।