नवलपुर । मध्यविन्दु प्रादेशिक अस्पताल नवलपुरले पटक पटक विद्युत् कटौती हुँदा सेवा प्रवाहमा समस्या आएको बताएको छ । अस्पतालले शनिबार पत्रकार सम्मेलन गरी शल्यक्रिया र डायलासिस गरिरेको बेलामा र आकस्मिक सेवामा समेत विद्युत् कटौती हुँदा समस्या भएको बताएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रमेशप्रसाद आचार्यले शल्यक्रिया र डायलासिस गरिरहेको बेलामा लाइन जाँदा बिरामीको ज्यान जोखिममा पर्ने गरेको बताउनुभयो । ‘अस्ति डाइलासिस गरिरहेको बेलामा लाइन गयो, रगत नै बाहिर भयो, एकैछिन पनि बुध्दि पुर्याएर काम नगरेको भए बिरामीको ज्यान जान सक्थ्यो’ मेसु डा. आचार्यले भन्नुभयो ।
अस्पतालसँग भएको थोरै क्षमताको जेनेरेटरले थेग्न नसकेको उहाँले बताउनुभयो । ‘नयाँ भवनबाट सेवा सञ्चालन गरेपछि पाँच सय केभी क्षमताको जेनेरेटर चाहिने रहेछ, हामीसँग भएको जेनेरेटर एक सय २५ केभीको मात्र छ’, मेसु डा. आचार्यले भन्नुभयो, ‘पुरानो भवनमा हुँदासम्म त्यसैले धानेको थियो, नयाँ भवनमा थेग्न सकेन ।’
त्यो क्षमताको नयाँ जेनेरेटर किन्न झण्डै ६०–७० लाख रुपियाँ चाहिने र त्यति धेरै रकम अस्पतालसँग नभएको उहाँको भनाइ छ । प्रदेशले बजेट सार्वजनिक गर्दा आफूहरूको माग सम्बोधन गर्नेमा आशावादी रहेको उहाँले बताउनुभयो ।
यसबारेमा विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्रमा भेटेर, फोन गरेर आग्रह गर्दा माथिबाटै सिस्टमले काटिएको जवाफ दिने गरेको आचार्यले गुनासो गर्नुभयो । “कार्यालय प्रमुखसँगको बैठकमा पनि गुनासो सुनाएँ, कतैबाट सम्बोधन भएन” मेसु डा आचार्यले भन्नुभयो, “प्राधिकरण प्रमुखसँग अहिले मेरो राम्रोसँग बोलचाल पनि छैन ।”