काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिकामा एकैदिन ३ वटा स्वास्थ्य चौकीमा अत्याधुनिक तथा गुणस्तरीय सेवासहितको ल्याव संचालनमा आएको छ । नगरपालिकाको वडा नम्बर-२ स्थित आलापोट स्वास्थ्य चौकी, वडा नम्बर-५ को डाँछी स्वास्थ्य र वडा नम्बर-९ को गोठाटार स्वास्थ्य चौकीमा सेरो ल्यावसँगको सहकार्यमा आजैदेखि अत्याधुनिक ल्याव संचालनमा आएको हो ।
नगरप्रमुख उपेन्द्र कार्कीले आज बर्थिङ सेन्टरसमेत रहेका ३ वटै स्वास्थ्य चौकीमा ल्यावको उद्घाटन गरेका हुन् ।

नगरपालिकाद्धारा संचालित नगर अस्पतालको विस्तारित स्वास्थ्य सेवा अन्तर्गत ल्याव सेवा सन्चालनमा ल्याइएको हो । उक्त ल्याव सेवा स्वास्थ्य बीमामा जोडिएका नागरिकले निशुल्क प्राप्त गर्न सक्नेछन् ।
सबै प्रकारका ल्याव परीक्षणहरुलाई अटोमेटिकरुपमा गुणस्तरीय बनाउन अत्याधुनिक प्रविधियुक्त मेसिनहरु जडान गरिएको छ । ल्यावमार्फत आधुनिक प्रविधिबाट विश्वका अन्य ल्याबमा परीक्षण गरिने सबै प्रकारका रोग पत्ता लगाउन सकिने छ ।
ल्याव संचालनका लागि यसअघि नै नगरपालिका र श्री सेरो डाइनोस्टीक ट्रेडर्स नेपाल प्रा.लि. ललितपुरबीच सम्झौता भएको थियो । जसअनुसार कम्पनिले अत्याधुनिक मेशिनरी तथा उपकरण उपलब्ध गराएको छ ।
ल्याब संचालन पश्चात् स्थानीय नगरबासीहरुले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहबाट लाभान्भित हुने र ठुला-ठुला प्राइभेट अस्पतालमा जानुपर्ने बाध्यता हट्ने नगरप्रमुख कार्कीले बताए । प्रमुख कार्कीले स्वास्थ्य संस्थाहरुले दिने सेवा गुणस्तरीय तथा अत्याधुनिक सुबिधा सम्पन्न गराउन स्वास्थ्य क्षेत्रलाई आफुहरुले प्राथमिकतामा राखेको बताए । उनले गुणस्तरीय स्वास्थ्य सेवासुविधा पहुँच टोलटोलमा पुर्याउन नगरपालिका प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा नगर उप-प्रमुख शान्ता थापाले निर्वाचन ताका आफुहरुले व्यक्त गरेका प्रतिबद्धताहरु क्रमसः पुरा गर्दै आएका बताइन् । स्वास्थ्य नै धन हो भन्ने उक्तिलाई आत्मसाथ गर्दै नगरबासीहरुको स्वास्थ्यलाई ध्यानमा राखी कार्यक्रमहरु संचालन गरिएको जानकारी दिइन् ।
यस्तै कार्यक्रममा नगरअस्पतालका कार्यकारी निर्देशक रामप्रसाद पौडेलले नगरबासीसहित स्थानीय बासिन्दाहरुलाई लक्षित गरी छिटो छरितो सेवा सुविधा दिनको लागि अत्याधुनिक ल्यावमा उच्च गुणस्तरीय यन्त्र उपकरण, औजार, दक्ष तथा अनुभवी कर्मचारीसहित संचालनमा ल्याइएको बताए ।