काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य कर्णबहादुर थापाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वले पार्टीलाई सही धार र सिद्धान्तबाट भट्काएको आरोप लगाउँदै कठोर आलोचना गरेका छन्।
ईश्वर पोखरेल समूहले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले ओलीको राजनीतिक शैली जनताको बहुदलीय जनवाद (जबज) र मार्क्सवादसँग प्रतिकूल रहेको दाबी गरे।
थापाले केन्द्रीय कमिटी बैठकहरूमा ओलीले मनलाग्दी ढंगले निर्णय गर्ने, भाषण गर्ने र पार्टी संरचनालाई व्यक्तिगत प्रभावमा चलाउने प्रवृत्ति बढेको बताए। “उहाँले भनेको कुरा नै मार्क्सवाद, उहाँले भनेको नै जबज, पार्टी र निर्णय , यसले सिद्धान्तको जरा नै हल्लिएको छ,” उनले भने।
उनका अनुसार १०औँ महाधिवेशनपछि एमालेमा आन्तरिक प्रक्रियाहरू निष्क्रिय बनेका छन्। स्थायी कमिटीका बैठक नाममात्र चलेका र माइन्युटमा राखिएको छलफल वास्तविक रूपमा नबसेको आरोप समेत उनले लगाए। उनले प्रदेश अध्यक्षलाई विधानअनुसार केन्द्रीय सदस्य बनाउने भनिएको भए पनि पछि मनपरी निर्णयमार्फत पोलिटब्युरो सरह बनाइएका उदाहरण प्रस्तुत गरे।
थापाले ओली नेतृत्वमा पार्टीभित्र जबाफदेहिताको प्रणाली अन्त्य भएको, विभिन्न दलबाट आएका व्यक्तिहरूलाई मनोमानी ढंगले पद बाँडिएको र २ कार्यकाल सीमाको व्यवस्था तथा ७० वर्षे उमेर सीमा जस्ता विषयमा समेत मनलाग्दी निर्णय भएको बताए।
उनले अन्त्यमा कडा चेतावनी दिदैँ भने, “ओलीको व्यक्तिगत चाहनामा एमाले अघि बढे, एमाले मात्र होइन, समग्र नेपाली कम्युनिस्ट आन्दोलन नै समाप्त हुन्छ।”
